संकटको संघारमा एनआरएनए माल्टा – नेपाली समुदायमा गुटबन्दीको राजनीति अन्त्य गरौं(सम्पादकीय )

Share:

गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाले गत मे २६ देखि सुरु गरिएको सदस्यता दर्ता प्रक्रिया समिट भए पनि अस्थायी रूपमा स्वीकृत कार्य स्थगित भएको छ। संस्थाका अध्यक्ष रेमलाल खनालद्वारा जारी गरिएको विज्ञप्तिमा एमआईएस प्रणालीमा अनधिकृत पहुँचमार्फत सदस्यता स्वीकृति गरिएको आरोप लगाइएको छ। अध्यक्षका अनुसार, यो कार्य संस्था भित्रैबाट नियोजित रूपमा गरिएको षड्यन्त्र हो, जसमा केन्द्रीय नेतृत्वको संलग्नता रहेको दाबी गरिएको छ। यसले एनआरएनए माल्टाको संस्थागत स्वायत्ततामाथि गम्भीर हस्तक्षेप भएको संकेत गर्दछ।
तर विषय त्यत्तिमा मात्र सीमित छैन। विज्ञप्ति सार्वजनिक भएलगत्तै कार्यसमितिकै उपाध्यक्ष सहितका पदाधिकारीहरूले अध्यक्षले कार्यसमितिमा छलफल नगरी एकल निर्णयमा विज्ञप्ति जारी गरेको भन्दै गम्भीर असहमति जनाएका छन्। उनीहरूको भनाइमा,संस्थाभित्र देखिएको समस्याको समाधान संवाद, संयमता र आन्तरिक सहकार्यबाट खोजिनुपर्थ्यो,तर अध्यक्ष स्वयंले विधि र प्रक्रिया बेवास्ता गरेका छन्। तर नतिजा – संस्था नेतृत्व दुई धारमा विभाजित छ। आरोप–प्रत्यारोपको दुष्चक्रले संस्था गम्भीर संकट हुनेछ ।
यो घटनाले प्रविधिको दुरुपयोग वा प्रणालीगत कमजोरी मात्र होइन, संस्थाभित्र गहिरिँदो गुटबन्दी, परस्पर अविश्वास र संवादहीनताको झलक पनि दिन्छ। यस्तो अवस्थाले संस्थाको आत्मा कमजोर बनाउँछ, जसको असर केवल संस्थाको साखमा मात्र होइन सम्पूर्ण नेपाली समुदायको एकता र पहिचानमा समेत पर्नेछ ।
पछिल्लो समय माल्टामा देखिएको आपसी अविश्वास, सञ्‍चारको अभाव र सत्ता कब्जाको खेलले नेपाली समुदायभित्र निराशा र भ्रमको वातावरण सिर्जना गरिरहेको छ। अझ दुःखद त के छ भने, केही उम्मेदवारका आकांक्षी गुटहरूले नेपालीहरूलाई आर्थिक प्रलोभन देखाउँदै १० युरोका लोभमा सदस्यता थप्ने प्रयास गरिरहेका छन् भन्ने तथ्यहरू सार्वजनिक भइरहेका छन्। यस्तो प्रवृत्तिले न केवल संस्था, बरु सम्पूर्ण समुदायलाई नै विभाजनतर्फ धकेल्ने खतरा बढाएको छ।
यदि समयमै सच्याइएन भने गहिरिँदै गएको गुटगत गठबन्धन, अवैध प्रभाव र स्वार्थकेन्द्रित प्रवृत्तिले केवल एनआरएनए माल्टालाई मात्र होइन, सम्पूर्ण प्रवासी नेपाली समुदायको अन्तर्राष्ट्रिय छविलाई नै धमिलो बनाउनेछ।
हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने एनआरएनए कुनै व्यक्ति विशेषको स्वामित्वको संस्था होइन। यो प्रवासी नेपालीहरूको साझा संस्था हो, जसको उद्देश्य संसारभर छरिएका नेपालीहरूबीच एकता, सहयोग र समन्वयको भावना प्रवर्द्धन गर्नु हो।
संस्थाको सञ्चालन पारदर्शी, विधिसम्मत र सहभागीमूलक हुनुपर्छ। चाहे त्यो सदस्यता दर्तामा होस् वा सार्वजनिक धारणा निर्माणमा।
अब ढिलाइ गर्ने समय छैन सदस्यता प्रक्रिया पूर्ण रूपमा पारदर्शी बनाउन स्वतन्त्र निगरानी संयन्त्र गठन गरिनुपर्छ। कुनै पनि सार्वजनिक सूचना वा धारणा कार्यसमितिको सामूहिक निर्णयबाट मात्र प्रकाशित गरिनुपर्छ। कार्यसमितिभित्र संवाद, सहिष्णुता र संयमता अनिवार्य रूपमा अभ्यासमा ल्याइनुपर्छ।
हाम्रो साझा उद्देश्य संस्थाको मजबुती र प्रवासी नेपाली समुदायको एकता हो। संस्था गुटको स्वार्थका लागि होइन, साझा जिम्मेवारीका लागि हो। अब माल्टाबासी नेपालीहरुले सोच्ने समय आएको छ ।
गुटबन्दीको राजनीति अन्त्य गरौं र माल्टामा नेपाली समुदायको साझा भविष्य सुरक्षित गरौं।

Share:

सम्बन्धित समाचारहरू