काठमाडौं / निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक रूपमा मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले थापालाई पार्टी सभापतिको हैसियतमा स्वीकार गर्दै उनको नेतृत्वमा गठन भएको केन्द्रीय समितिलाई वैधानिक ठहर गरेको हो ।
नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए । उक्त निर्वाचनपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकका निर्णयहरू सहित थापा निर्वाचन आयोग पुगेका थिए । आयोगले पेश गरिएका सम्पूर्ण कागजात, निर्णय प्रक्रिया तथा विधानअनुसारको पालना अध्ययन गरी थापा नेतृत्वको समितिलाई आधिकारिकता दिएको जनाएको छ ।
कांग्रेसको विशेष महाधिवेशन राजधानी काठमाडौंको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म आयोजना गरिएको थियो । आयोगले उक्त विशेष महाधिवेशन पार्टीको विधान र प्रचलित कानुनअनुसार नै सम्पन्न भएको निष्कर्ष निकालेको छ । साथै, महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण पार्टी अभिलेखमा अद्यावधिक गर्ने निर्णय पनि गरिएको छ ।
निर्वाचन आयोगको निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै राजनीतिक तथा संगठनात्मक निर्णयहरूले कानुनी मान्यता पाएका छन् । यसअघि विशेष महाधिवेशनलाई अमान्य ठहर गर्नुपर्ने भन्दै शेरबहादुर देउवा पक्षले उठाएको दाबी स्वतः खारेज भएको छ ।
अब पार्टीभित्र प्रत्यक्ष मनोनयनदेखि अन्य सबै कामकारबाही गगन थापा–विश्वप्रकाश शर्मा समूहको नेतृत्वमा आधिकारिक रूपमा सञ्चालन हुने भएका छन् । आयोगको निर्णयपछि शेरबहादुर देउवाको नेतृत्वमा रहेको पुरानो केन्द्रीय कार्यसमिति स्वतः अमान्य भएको स्पष्ट भएको छ ।
यद्यपि, निर्वाचन आयोगको यस निर्णयप्रति असन्तुष्ट समूहका लागि सर्वोच्च अदालतमा जाने कानुनी विकल्प भने खुला नै रहेको बताइएको छ । आयोगको निर्णयलाई कांग्रेसभित्रको विवाद समाधानतर्फको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।


