प्रवासी नेपाली मञ्च माल्टाको तेस्रो अधिवेशन सम्पन्न, कमल पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

Share:

माल्टा नेपाल अनलाइन — प्रवासी नेपाली मञ्च, माल्टाको तेस्रो अधिवेशनबाट कमल पोखरेलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ।

अधिवेशनले प्रवासी नेपालीहरूको हकहित, एकता र संगठनको उद्देश्यलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धतासहित नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिले माल्टामा प्रवासी नेपाली मञ्चलाई थप मजबुत, प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।

अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा कमल पोखरेल, उपाध्यक्षमा हेमराज भण्डारी, सचिवमा राजेन्द्र बिष्ट, उपसचिवमा सुषमा कार्की र मदन न्यौपाने चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा केशव सिमखडा, मणिराम भण्डारी, प्रकाश आन्दम्बे, विष्णु प्रसाद पाण्डे, रोशन लामा, मनोज आचार्य, शिरोमणि पौडेल, सुनील शर्मा, कमल केसी, शर्मिला बिष्ट, प्रशान्त आचार्य, धनबहादुर खड्का र आशिष गजमेर निर्वाचित भएका छन्।

नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै प्रवासी नेपालीहरूको हकहित संरक्षण, आपसी एकता र संगठनको उद्देश्य प्राप्तिका लागि नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

प्रवासी नेपाली मञ्च माल्टाका अध्यक्ष राजु अर्याल बाबु’ को अध्यक्षतामा सम्पन्न अधिवेशनको नेपाली मञ्च युरोपका सचिव सालिकराम थपलिया प्रमुख अतिथि रहेका थिए । मञ्चका सचिव हेमराज भण्डारीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष कमल पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।

अधिवेशनका प्रमुख अतिथि थपलियाले प्रवासमा संगठन विस्तारसँगै नेपाली समुदायका समस्या र आवश्यकताका विषयमा सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिएका थिए । उनले युरोपका २२ देशमा प्रवासी नेपाली मञ्चको संगठन विस्तार भएको बताउदै माल्टामा संगठन निर्माण तथा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थापक अध्यक्ष सत्यनारायण झा र निवर्तमान अध्यक्ष राजु अर्याल ‘बाबु’लगायत सबैको प्रशंसा गरेका थिए ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च माल्टाका संस्थापक अध्यक्ष सत्यनारायण झाले संगठन निर्माण र विस्तारका क्रममा आफूहरूले गरेको मेहनत तथा संघर्षको स्मरण गर्दै संगठनलाई मजबुत बनाउन योगदान गर्ने सबैलाई धन्यवाद दिए। अधिवेशनका विशिष्ट अतिथि तथा एनआरएनए माल्टाका निवर्तमान अध्यक्ष रेम्स खनालले देशलाई बलियो बनाउन विदेशमा रहेका नेपालीहरू पनि एक भएर लाग्नुपर्ने बताए।

माल्टा नेपाल अनलाइनका सम्पादक तथा पत्रकार धनराज अविरलले देश रहेपछि मात्र नेपालीको अस्तित्व रहने भएकाले देशको रक्षा र समृद्धिका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताए।

नेपाली जनसम्पर्क समिति माल्टाका उपसभापति रिसिराम काफ्लेले देशको हितका लागि राजनीतिमा लाग्नुपर्ने बताउँदै व्यक्तिगत स्वार्थ र फाइदाका लागि राजनीति गर्न नहुने धारणा राखे।

त्यसैगरी, एनआरएनए माल्टाका वरिष्ठ उपाध्यक्ष निरज श्रेष्ठले नेपालीहरूको हित हुने गरी सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिए। एनआरएनए युरोपका सचिव तथा एनआरएनए माल्टाका पूर्वअध्यक्ष भुवन अर्यालले नेपालको समृद्धि र परिवर्तनका लागि पार्टीभित्रका कमजोरीहरू सच्याएर देश र जनताको पक्षमा सबै उभिनुपर्ने बताए।

अधिवेशनमा माल्टामा क्रियाशील विभिन्न राजनीतिक दलसम्बद्ध संगठनका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

 

Share:

सम्बन्धित समाचारहरू