धनराज विक (अविरल)/ डिसेम्बर २६ (माल्टा)
तमु (गुरुङ) समाज माल्टाले नयाँ वर्ष तथा मौलिक पर्व तमु ल्होसारको अवसरमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरी नयाँ वर्ष तथा मौलिक पर्व तमु ल्होसार मनाउने भएको छ । डिसेम्बर ३० तारिखका दिन माल्टाको ओर्फिएम थिर्यटर जिरामा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरी नयाँ वर्ष तथा मौलिक पर्व तमु ल्होसार मनाउन लागेको तमु (गुरुङ) समाज माल्टाका अध्यक्ष आकाश गुरुङले बताएका छन् ।
“शास्त्र हराए संस्कार हराउँछ,संस्कार हराए संस्कृति हराउँछ र संस्कृति पनि हराए मान्छे नै हराउँछ” भन्ने मूल नाराका साथ अघि बढेको तमु (गुरुङ) समाज माल्टाले नेपाली पहिचान र संस्कृति झल्काउने मौलिक पहिरनमा विगत देखि नै नयाँ वर्ष तथा मौलिक पर्व तमु ल्होसार निरन्तर रुपमा मनाउँदै आएको गुरुङ बताउँछन् । । बिहान १० बजेदेखि २ दिउँसो बजेसम्म पुजा हुने र २ बजेदेखि राती ९ बजेसम्म विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने उनले बताए ।
विविध साँस्कृतिक कार्यक्रममा चर्चित गायक दुर्गा बहादुर गुरुङको बेजोड प्रस्तुतीका साथै माल्टामा रहेका विभिन्न साँस्कृतिक समूह र कलाकारको प्रस्तुती रहने छ । कार्यक्रममा प्रवेश शुल्क सहयोग स्वरुप १० युरो तोकिएको विविध साँस्कृतिक कार्यक्रमका संयोजक एवम् तमु (गुरुङ) समाज माल्टाका सचिव उत्तम गुरुङले जानकारी दिएका छन् ।
तमु (गुरुङ) समाज माल्टाका संरक्षक, संस्थापक एवम् निवर्तमान अध्यक्ष मधु गुरुङले नयाँ वर्ष तथा मौलिक पर्व तमु ल्होसारमा पाहुनाको रुपमा माल्टामा रहेका सबै नेपालीलाई चुले निम्तो दिएका छन् । खुसी र उमंगका साथ नयाँ वर्ष तथा मौलिक पर्व तमु ल्होसार पर्व उत्सवका रुपमा मनाउनका लागि सबैलाई निमन्त्रणा दिदै गरिमामय उपस्थितिका लागि गुरुङले हार्दिक अनुरोध गरेका छन् ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका वरिष्ठ उपाध्यक्ष समेत रहेका गुरुङले माल्टामा रहेका विभिन्न सामाजिक संस्था, सामाजिक अगुवा, समाजसेवी, पत्रकार र माल्टामा रहेका नेपालीलाई निमन्त्रणा गरी सकेको बताए । उनले भने, “यदि निमान्त्रणा पत्र नपुगेको अवस्थामा यही समाचारलाई आधिकारिक मानि डिसेम्बर ३० तारिखका दिन बिहान १० बजेदेखि सुरुहुने कार्यक्रममा उपस्थित भइदिनु होला ।” नेपालीहरु विश्वमा जहाँ पुगेपनि आफ्नो रीति रिवाज परम्परा र कला संस्कृतिको संरक्षण गर्न एक भएर लाग्नु पर्नेमा गुरुङले जोड दिए । त्यही भएर तमु (गुरुङ) समाज माल्टाले नयाँ वर्ष तथा मौलिक पर्व तमु ल्होसार पर्व विदेशमा पनि नेपाल चिनाउने गरी मनाउँदै आएको उनले बताए ।
विविध साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुराभइ सकेको छ । माल्टामा रहेका महिला दिदिबहिनी र पुरुष दाजुभाइलाई नयाँ वर्ष तथा मौलिक पर्व तमु ल्होसारमा सहभागी भएर नेपालीपन झल्काउदै विविध साँस्कृतिक कार्यक्रमको शोभा बढाई दिनहुन तमु (गुरुङ) समाज माल्टाकी महिला उपाध्यक्ष दिलु गुरुङले निमन्त्रणाका साथै सबैलाई अनुरोध गरेकी छन् । तमु (गुरुङ) समाज माल्टाका कोषाध्यक्ष दिपेश गुरुङले तमु समुदायको महान मौलिक साँस्कृतिक पर्व तमु नयाँ वर्ष तमु ल्होसार गुरुङहरुको पहिचानको पर्व भएको बताए । यस पर्वलाई गुरुङहरुले नेपालमा भब्यताका साथ मनाउने गरेको र माल्टामा रहेका गुरुङहरुले पनि सबै नेपालीको सहभागितामा संस्कृति भेषभूषा झल्किने साँस्कृतिक नृत्य सहित ल्होसार कार्यक्रम मनाउने गरेको उनी बताउँछन् ।