चलचित्र ‘लाज शरणम’को प्रचार सामग्री सार्वजनिक नगर्न अदालतको आदेश

Share:

फेब्रुअरी,१८
नेपाली चलचित्र ‘लाज शरणम्’ लाई अदालतले अनुमति नदिएसम्म कुनै पनि प्रचार सामग्री सार्वजनिक गर्न नपाउने आदेश दिएको छ।
फागुन १४ गते महाशिवरात्रीको दिनबाट प्रदर्शनमा आउन लागेको यस चलचित्र विरुद्ध निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले दायर गरेको मुद्दाका आधारमा अदालतले फिल्म लाज शरणम सम्बन्धी कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न निर्देशन दिएपछि फिल्मको ट्रेलर रिलिज कार्यक्रम स्थगित भएको छ।
निर्माताहरूले भोलि सार्वजनिक गर्ने तयारी गरेका थिए, तर अदालतको आदेशपछि हाललाई कुनै पनि प्रवर्द्धनात्मक सामग्री बाहिर ल्याउन नपाउने भएको छ। आलमले फिल्ममा सिताराम कट्टेल ‘धुर्मुस’को देखाइएको पात्र आफ्नो गेटअपसँग मेल खाने भन्दै मुद्दा दायर गरेका थिए।
यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुस, विजय, अर्जुन, सागर, हरिष र प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

Share:

सम्बन्धित समाचारहरू