माल्टा नेपाल अनलाइन डेस्क / माल्टामा बसोबास गर्ने नेपालीहरूका लागि नेपथ्यको भब्य कन्सर्ट आयोजना हुने भएको छ । नेपाली संगीत ब्यान्ड नेपथ्यलाई आगामी २७ अगस्ट २०२५ मा माल्टामा भब्य कन्सर्टका लागि ल्याउन लागेको एनएमएफसीले करिब ४ हजार दर्शकले कन्सर्ट हेर्ने अनुमान गरेको छ । नेपथ्यको कन्सर्ट माल्टा फेयर एण्ड कन्वेन्सन्स सेन्टर( एमएफसीसीमा) हुने भएको छ । माल्टाको सबैभन्दा ठूलो हल जहाँ बहुउद्देश्यीय सम्मेलन र प्रदर्शनी स्थलको रुपमा रहेको छ । कन्सर्ट आयोजना हुने स्थल माल्टाको ताआली, अत्तार्डमा रहेको छ ।
एनएमएफसीका अध्यक्ष राजेन्द्र बिष्टलेका अनुसार “नेपथ्यलाई माल्टामा ल्याउने हाम्रो सपना लामो समयदेखि थियो । तीन वर्षको लामो प्रयास पछि नेपथ्यलाई माल्टामा ल्याउन सफल भएको अध्यक्ष बिष्टले बताए । उनले भने, “करिब १ लाख ५० हजार युरोभन्दा बढी खर्चिलो कार्यक्रम भए पनि नेपाली समुदायलाई वास्तविक संगीतको अनुभव दिन र नेपाललाई सांस्कृतिक रूपमा चिनाउने उद्देश्यले हामीले यो कदम चालेका हौं।”
कार्यक्रममा करिब चार हजार दर्शकको उपस्थिति रहने अनुमान आयोजकले गरेको छ । माल्टामा बसोबास गर्ने नेपाली समुदायका धेरैले कन्सर्टमा सहभागी हुन कार्यस्थलबाट बिदा मिलाइसकेका छन् भने अरूले पनि छुट्टी मिलाउने तयारी गरि रहेको जानकारी अध्यक्ष बिष्टले माल्टा नेपाल अनलाइनलाई बताए । यस कन्सर्टको लागि टिकट बिक्री करिब तीन महिनाअघि नै सुरु भएको थियो । सुरुवाती ‘अर्ली बर्ड टिकट’ ४० युरोमा उपलब्ध गराइएको थियो भने पछि मूल्य ५५ युरो पुगेको हो । अहिले टिकट मूल्य ६५ युरो कायम गरिएको छ । टिकटहरू अनलाइनमार्फत पनि खरिद गर्न सकिन्छ भने कार्यक्रम स्थलमै पनि उपलब्ध हुने व्यवस्था गरिएको छ ।
नेपथ्यको संगीत सुन्नका लागि केवल नेपाली मात्र नभई अन्य देशका नागरिकहरू पनि उत्साहित छन् । भारत, फिलिपिन्स लगायतका नागरिकहरूले पनि टिकट खरिद गरेका छन् । उनीहरूले गीतको भाषा नबुझे पनि संगीतले मन छोएको कारण कन्सर्टमा उपस्थित हुने इच्छा व्यक्त गरेका छन् । सन् १९९० को दशकदेखि निरन्तर सक्रिय नेपथ्यले नेपाली लोकधुनलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै आफ्नो छुट्टै पहिचान बनाएको छ । ‘स्याम्ताङ गाउँको’, ‘बुट्टन धारी ढाका टोपी’, ‘रातो र चन्द्र सुर्य’, साँझ पर्दा फुलको हाँसो, सम्झना तिमीलाई, रेशम, सिरानी माथि नाँच्नु लगायतका गीतहरूले नेपथ्यलाई नेपाली मात्र नभई अन्तर्राष्ट्रिय श्रोतामाझ पनि लोकप्रिय बनाएका छन् ।
माल्टामा बसोबास गर्ने नेपालीहरूका लागि यो कन्सर्ट नेपथ्यलाई प्रत्यक्ष नजिकबाट भेट्ने सम्भवतः अन्तिम अवसर हुन सक्ने अपेक्षा गरिएको छ । यसैकारण, कन्सर्टलाई माल्टामा अहिलेसम्मकै ठूलो नेपाली संगीतमय जमघटको रूपमा लिइएको छ । नेपथ्यको कन्सर्टको लागि अमृत गुरुङको नेतृत्वमा १४ जना कलाकारको टिम माल्टामा आउन लागेको हो । कन्सर्ट हेर्नको लागि आयोजकले २ सय युरोको भिआइपी टिकटको समेत व्यवस्था गरेको छ । भिआइपी टिकट पनि धमाधम बुकिङ भइरहेको अध्यक्ष बिष्टले बताए । कार्यक्रम भब्य रुपमा सफल पार्न सबैलाई सहयोग गरीदिन बिष्टले अनुरोध गरेका छन् ।
।