माल्टामा ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित मुकुम्लुङ कप २०२६’ हुँदै, युरोपका २५ टोली सहभागी हुने

Share:

माल्टा नेपाल अनलाइन/ किराँत याक्थुङ चुम्लुङ माल्टा र किराँत याक्थुङ चुम्लुङ फुटबल क्लब(के वाइ सी एफ सी)माल्टाको संयुक्त आयोजनामा ‘प्रथम ऐतिहासिक अन्तर्राष्ट्रिय आमन्त्रित मुकुम्लुङ कप २०२६’ आयोजना हुने भएको छ। आगामी अक्टोबर ३ र ४ तारिख माल्टाको मोस्टा फुटबल ग्राउन्डमा आयोजना हुने प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढिरहेको आयोजकले माल्टा नेपाल अनलाइनलाई जानकारी दिएका छन्। खेलकुदको माध्यमबाट एकता,पहिचान,संस्कृति र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा आयोजक माल्टासहित युरोपका विभिन्न क्षेत्रबाट करिब २५ वटा फुटबल टोली सहभागी हुनेछन् ।

प्रतियोगितामा विभिन्न देशमा रहेका किराँत समुदायका प्रतिनिधिहरूको समेत उपस्थिति रहने बताइएको छ।बेल्जियम, पोर्चुगल, जर्मनीलगायत विभिन्न युरोपेली मुलुकबाट प्रतिनिधिहरू माल्टा आउने तयारीमा रहेको आयोजकको भनाइ छ। आयोजकका अनुसार प्रतियोगितासम्बन्धी आवश्यक तयारीसँगै कार्यक्रमको मस्यौदा (ड्राफ्ट),व्यवस्थापन तथा समन्वयको काम अघि बढिरहेको छ। युरोपका विभिन्न देशमा छरिएर रहेका किराँत समुदायका प्रतिनिधि तथा नेपाली समुदायलाई समेट्दै प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रतियोगितामा युरोपका विभिन्न देशमा रहेका किराँत याक्थुङ चुम्लुङका प्रतिनिधि टोलीसँगै अन्य नेपाली समुदाय तथा संघसंस्थासँग आबद्ध फुटबल टोलीले पनि सहभागिता जनाउनेछन्। हालसम्मको जानकारीअनुसार पोर्चुगलबाट धरान सिटी,जर्मनीबाट किराँत याक्थुङ चुम्लुङ, क्रोएसियाबाट तमु समाज लगायत माल्टाका विभिन्न स्थानीय फुटबल क्लबहरू प्रतियोगितामा सहभागी हुनेछन्। आयोजकका अनुसार मुकुम्लुङ कप केवल फुटबल प्रतियोगितामा सीमित नभई युरोपका विभिन्न देशमा रहेका नेपाली तथा किराँत समुदायबीचको सम्बन्ध, सांस्कृतिक पहिचान र आपसी एकतालाई थप मजबुत बनाउने साझा थलोका रूपमा विकास गर्ने उद्देश्य राखिएको छ।

प्रतियोगितालाई सफल,व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न विभिन्न संघसंस्था, मिडिया,खेलाडी,फुटबल क्लब, प्रायोजक तथा शुभेच्छुकहरूबाट सहयोग र समन्वय भइरहेको बताइएको छ। सहभागी हुने प्रत्येक टोलीका लागि प्रवेश शुल्क ५०० युरो तोकिएको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले ५ हजार युरो नगद पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीलाई २ हजार ५ सय युरो नगद पुरस्कार प्रदान गरिनेछ।
यससँगै प्रतियोगितामा सहभागी टोलीहरूले आयोजकले निर्धारण गरेका नियम तथा खेलसम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ। प्रतियोगितामा प्रत्येक टोलीबाट ७ जना मुख्य खेलाडी र ५ जना अतिरिक्त खेलाडी गरी जम्मा १२ जना खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको छ। खेलहरू FIFA का प्रचलित नियमअनुसार सञ्चालन गरिने आयोजकले जनाए ।
अक्टोबर ३ र ४ तारिख बिहान १० बजेदेखि मोस्टा फुटबल ग्राउन्डमा सञ्चालन हुने प्रतियोगितामा युरोपका विभिन्न देशबाट आउने टोलीबीचको प्रतिस्पर्धासँगै आकर्षक पुरस्कार रकम पनि मुख्य आकर्षणका रूपमा रहनेछ।

किराँत याक्थुङ चुम्लुङ माल्टा र किराँत याक्थुङ चुम्लुङ फुटबल क्लब(के वाइ सी एफ सी)माल्टाले सहभागी हुने सम्पूर्ण टोली, सहयोगी संस्था, प्रायोजक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै उक्त दिने फुटबल ग्राउन्डमा उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न माल्टामा रहेका सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरेको छ।

Share:

सम्बन्धित समाचारहरू