दसैंको अवसरमा माल्टामा प्रकाश सपुतको सांगीतिक रौनक, आम्दानी परोपकारी कोषमा

Share:

माल्टा नेपाल अनलाइन डेस्क/नेपालीहरूको महान् चाड दसैंको अवसरमा माल्टामा रहेका नेपालीहरूलाई लक्षित गर्दै लोकप्रिय नेपाली गायक तथा कलाकार प्रकाश सपुत सांगीतिक कार्यक्रम लिएर माल्टामा आउँदैछन्।
नेपाली गीत,संगीतमा आफ्नै शैली र प्रस्तुतिमार्फत दर्शकको मन जित्दै आएका सपुतले यसपटक माल्टामा रहेका नेपाली दर्शकमाझ आफ्ना चर्चित गीत तथा सांगीतिक प्रस्तुतिहरू प्रत्यक्ष रूपमा पस्किने भएका छन्। दसैंको उमंगसँगै परदेशमा नेपाली संगीत, कला र संस्कृतिको माहोल सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
तन्त्र इभेन्ट्सको आयोजनामा आगामी १६ अक्टोबर २०२६, शुक्रबार ग्जिरास्थित ओर्फियम थिएटरमा कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा प्रकाश सपुतको विशेष प्रस्तुति रहनेछ भने डिजे स्काजीले समेत आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्।
तन्त्र इभेन्ट्सका सञ्चालक समुद्र भट्टराईका अनुसार दसैंको समयमा आफ्ना परिवार, आफन्त र साथीभाइसँग भेटघाट गर्दै उत्सव मनाउने नेपाली परम्परा भए पनि परदेशमा रहेका नेपालीहरूका लागि यस्ता कार्यक्रम आफ्नै भाषा, संस्कृति र समुदायसँग जोडिने अवसरसमेत बन्ने गरेका छन्। त्यसैले प्रकाश सपुतको यो सांगीतिक प्रस्तुति माल्टामा रहेका नेपालीका लागि मनोरञ्जनसँगै दसैंको विशेष सम्झना बन्ने अपेक्षा गरिएको बताएका छन् ।
कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग समेत जोडिएको आयोजकले जनाए । कार्यक्रमका लागि बिक्री हुने प्रत्येक टिकटबाट ५ प्रतिशत रकम परोपकारी कोषमा छुट्याइने संचालक भट्टराईले माल्टा नेपाल अनलाइनलाई बताइए।
कार्यक्रमका टिकटहरू अनलाइनका साथै माल्टामा रहेका विभिन्न नेपाली पसल तथा रेस्टुरेन्टहरूमा समेत उपलब्ध छन्। टिकट खरिद तथा कार्यक्रमसम्बन्धी थप जानकारीका लागि तन्त्र इभेन्ट्सका प्रतिनिधिहरूलाई +३५६ ७७२०७७३ वा +३५६ ७७६८९५५२ मा सम्पर्क गर्न सकिनेछ।
दसैंको उमंग, नेपाली संगीतको मिठास र प्रकाश सपुतको प्रत्यक्ष प्रस्तुतिसँगै माल्टामा रहेका नेपालीहरूका लागि एउटा विशेष सांगीतिक साँझ रहेको हुँदा आयोजकले सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई दसैंको खुसी र सांगीतिक उत्सवलाई सँगै मनाउन आग्रह गरेका छन् ।

Share:

सम्बन्धित समाचारहरू