माल्टा नेपाल अनलाइन डेस्क/ युरोपेली मुलुक माल्टामा रहेका नेपालीमाझ दसैंको सांगीतिक उत्साह थपिएको छ। लोकप्रिय गायक तथा कलाकार प्रकाश सपुत माल्टा आइपुगेपछि शुक्रबार साँझ आयोजना हुने विशेष सांगीतिक कार्यक्रमलाई लिएर नेपाली समुदायमा चासो बढेको छ।
सपुतको आगमनसँगै माल्टामा नेपाली गीतसंगीतको माहोल तातेको छ। नेपाली लोकसंगीत र मौलिक सिर्जनामार्फत दर्शकको मन जित्दै आएका उनले शुक्रबार आफ्ना चर्चित गीत तथा प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।
तन्त्र इभेन्ट्सको आयोजनामा हुन लागेको कार्यक्रमबारे आयोजकले विशेष चासोका साथ तयारी अघि बढाएका छन्। इभेन्ट्सका सञ्चालक समुद्र भट्टराईको विशेष पहल तथा संयोजनमा आयोजना हुन लागेको कार्यक्रममा माल्टामा रहेका नेपालीलाई दसैंको अवसरमा सांगीतिक मनोरञ्जन प्रदान गर्ने लक्ष्य राखिएको छ।
शुक्रबार, १६ अक्टोबर २०२६ मा ग्जिरास्थित अर्फियम थिएटरमा हुने कार्यक्रममा प्रकाश सपुतसँगै डिजे स्काजीको प्रस्तुति पनि रहनेछ। परदेशमा रहेर दसैं मनाइरहेका नेपालीका लागि यो कार्यक्रम आफ्नै भाषा, संगीत र संस्कृतिसँग रमाउने अवसर बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रमबाट प्राप्त रकमको केही हिस्सा परोपकारी कोषका लागि छुट्याइने आयोजकले जनाएका छन्।
कार्यक्रमका टिकट अनलाइनका साथै माल्टाका विभिन्न नेपाली पसल तथा रेस्टुरेन्टमा उपलब्ध छन्। थप जानकारी तथा टिकट खरिदका लागि +३५६ ७७२०७७३ वा +३५६ ७७६८९५५२ मा सम्पर्क गर्न सकिनेछ।
आयोजकले माल्टामा रहेका सम्पूर्ण नेपालीलाई शुक्रबार साँझ कार्यक्रममा सहभागी भई दसैंको खुसी र नेपाली सांगीतिक रौनक सँगै बाँड्न आग्रह गरेका छन्।



