माल्टा – माल्टाको सान्ट जुलियनस्थित ‘एमई माल्टा होटल’मा हाउस किपिङ काम गर्ने दुई नेपालीलाई होटलको कोठाबाट झोला र नगद चोरी गरेको आरोपमा पक्राउ गरिएको छ।
२६ वर्षीया सङ्गिता घिमिरे र २७ वर्षीया मीना कार्की सोमबार राष्ट्रिय अदालतमा उपस्थित भई आरोप स्वीकार गरेका हुन्। उनीहरूलाई न्यायाधीश लारा लानफ्रान्कोको इजलासमा पेश गरिएको थियो।
अभियोगपत्रअनुसार, गत सेप्टेम्बर १३ मा उनीहरूले होटलको कोठाबाट ३५० युरो सहितका विभिन्न उपहार र अन्य सामान भएको झोला चोरी गरेका थिए। घटनाको भिडियो प्रमाण (सिसीटिभी क्यामेरा) मा महिलाहरू झोला लिएर बाहिर निस्कँदै गरेको देखिएको छ।
सुनुवाइका क्रममा कानुनी सहयोग वकिल सिल्भान पुलिसले सजायबारे छलफल गोप्य रुपमा गर्न माग गरेका थिए। अदालतले दुवैलाई १२ महिनाको कैद सजाय सुनाए पनि सो सजाय दुई वर्षका लागि स्थगित गरिएको छ। साथै, पीडितलाई ३५० युरो फिर्ता गर्न आदेश दिइएको छ।
मुद्दा सरकारी वकिल म्यानुअल ग्रेचले अघि बढाएका थिए भने प्रहरी निरीक्षक केल्सी बुगेजा र क्रिस्टियन जुएरेबले सहयोग गरेका थिए। कानुनी सहयोग वकिल सिल्भान पुलिसले दुवै महिलाको पक्षमा वकालत गरेका थिए। स्रोत: टाइम्स अफ माल्टा