नेपाली पहिचान झल्काउँदै माल्टामा नेपालीले चिनाए नेपाल (फोटो फिचर)

Share:

माल्टा नेपाल अनलाइन संवाददाता,

युरोप माल्टा /  हावाहुरी चलेको चिसो मौसम थियो । माल्टाको आकास राम्रोसँग खुलेको पनि थिएन । प्रतिकुल मौसमका बावजुत पनि रोजगारीको सिलसिलामा युरोपको माल्टामा रहेका नेपालीहरु नेपाली डे अर्थात नयाँ वर्ष २०८२ मनाउनका लागि माल्टाको राजधानी भ्यालेटामा आइरहेका थिए । बैशाख १ गते अप्रिल १४ तारीख सोमबारका दिन नेपाली राष्ट्रिय पोसाकका साथै विभिन्न जाती तथा समुदायहरु आफ्नो मौलिक पहिरनमा सजिदै हातहातमा नेपालको राष्ट्रिय झन्डा बोकेर नयाँ वर्ष उत्सबका रुपमा मनाउनका लागि माल्टाका विभिन्न ठाउँबाट निस्केका नेपालीहरुको दृश्यले माल्टावासी लगायत माल्टा घुम्न आएका अन्य देशका नागरिकको ध्यानाकर्षण गरेको थियो ।

नेपालीहरुको कार्यक्रममा विदेशी नागरिक माल्टावासीले समेत नेपाली पहिचान झल्काउने पोसाक लगाएर नेपाली झन्डाको साथमा सहभागिता जनाएको परिवेशले कार्यक्रममा उत्साह र प्रेमको रौनक थपिएको थियो । उनीहरुले माल्टामा रहेका आप्रवासी नेपालीप्रती गरेको व्यवहारले एक देशले अर्को देशप्रति गरेको सम्मानको भाव झल्काइरहेको थियो । माल्टा र नेपालको दुईदेश बीचको प्रेमपूर्वक सम्बन्धले विश्व साझा घर हो र हामीसबै एकघरका परिवारका सदस्य भएको सन्देश पनि नेपाली नयाँ वर्षको कार्यक्रमले दिएको आभास पनि सजिलै गर्न सकिन्थ्यो ।

नेपालीहरुले कार्यक्रम आयोजना गरेको माल्टाको राजधानी भ्यालेटा पुरातात्तिक ठाउँ हो जहाँ माल्टा सरकारका सबै मन्त्रालय रहेका छन् । राजधानी भएकोले दिनहु हजारौं मान्छेहरुको भिडभाड भइरहेको हुन्छ । साँस्कृतिक माध्यामद्धारा नेपालीहरुले प्रस्तुत गरेको नेपाली संस्कृति र पहिचान झल्काउने कार्यक्रमको माल्टा लगायत अन्य देशका नागरिकहरुले आनन्द लिदै अवलोकन गरे । उनीहरुले आफ्नो मोबाइल र डिजटल क्यामेरामा सबै दृश्यहरु चासो दिएर कैद समेत गरे । सामाजिक संजाल मार्फत उनीहरुले नेपालीहरुको एकता, देशप्रेमको भावना र नेपाली संस्कृति र सभ्यताको बारेमा लेखेर नेपाललाई चिनाएका छन् । माल्टामा रहेका संचार माध्यामले पनि प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेकोले नेपाली नयाँ वर्षको कार्यक्रमको व्यापकता र यसले दिन खोजेको सन्देश यतिबेला चौतर्फी फैलिएको छ ।

नेपालको कला संस्कृति र पहिचान झल्काउने पन्चे बाजा, लाखे नाँच र झाँकी प्रदर्शन गरेर ¥याली सहित माल्टाको राजधानी भ्यालेटा परिक्रमा गरेर औपचारिक रुपमा कार्यक्रम संचालन गरिएको गैर आवासी नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाले (रेम्स) ले बताए । उनले भने,“ नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग होस् भन्ने मूख्य उद्देश्यका साथ माल्टामा नेपालीहरुको उल्लेखनीय र उत्साहजनक सहभागितामा नेपाल डे नयाँ वर्ष उत्सवका रुपमा मनाएका हौं ।” कार्यक्रमले नेपाल र माल्टा दुई देश बीचको सम्बन्ध थप मजबुत भएर गएको बताउँर्दै महत्वपूर्ण सहयोग गर्ने माल्टा सरकार र कार्यक्रम सफलतापूर्वक सफल पार्ने सम्पूर्ण नेपालीहरुलाई अध्यक्ष खनालले धन्यवाद् दिएका छन् ।

नेपालको राष्ट्रिय गानमा सरिक भएर देशप्रर्ती सम्मान व्यक्तगर्दै सुरु भएको कार्यक्रममा ज्ञातअज्ञात सहिदहरु र रोजगारीको सिलसिलामा माल्टामा जीवन गुमाएका नेपालीहरुको सम्झनामा मौन धारण गरिएको थियो । कार्यक्रमका विशेष अतिथि माल्टाका परराष्ट्र तथा पर्यटनका लागि स्थायी सचिव क्रिस्टोफर कुटाजारले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन पछि नेपालको संस्कृति झल्काउने साँस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको एनआरएनए माल्टाका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक निरज श्रेष्ठले बताए । कार्यक्रम भब्य र सभ्य रुपमा व्यवस्थित तरिकाले सम्पन्न गर्नमा श्रेष्ठ निकै मिहिनेतका साथ व्यवस्थापनमा सक्रिय रुपमा लागि परेका देखिन्थे । कार्यक्रम आयोजक लगायत अन्य सबै फोटो सेसन र भिडियो बनाउन तिर ब्यस्त थिए तर संयोजक श्रेष्ठ एकमात्र कार्यक्रमका त्यस्ता व्यक्ति थिए जुन कार्यक्रमको उचित व्यवस्थानमा बिहान देखि साँझसम्म निरन्तर खटिएका थिए । उनको खटनपटनको सहभागीले दिल खोलेर तारीफ समेत गरे । एनआरएनए माल्टाका उपाध्यक्ष एवं कार्यक्रमका उपसंयोजक विजय परिवारले कार्यक्रम ऐतिहासिक भएको बताए ।

कार्यक्रममा एनआरएनए माल्टाकी महिला उपाध्यक्ष सबनम गुरुङ विदेशी नागरिकलाई फोटो खिच्न र भिडियो बनाउनको लागि सहज वातावरण बनाइ रहेकी थिइन् । चौतर्फी कार्यक्रमका सहभागीहरुको बाक्लो भिडले गर्दा विदेशी नागरिकलाई फोटो खिच्न र भिडियो बनाउन असजिलो भएको देखेपछि गुरुङ उनीहरुको सजिलोको लागि भिडलाई पन्छाउदै आवतजावत गर्न मिल्ने ठाउँ बनाउन तिर लागिन् । पछाडी तिर रहेका विदेशी नागरिक खुला ठाउँ भएपछि मन्चको अगाडी भागमा आएर उनीहरुले फोटो र भिडियो आफ्नो मोबाइल र क्यामेरामा सजिलै कैद गरेका थिए ।

कार्यक्रममा पोल्याण्डकी माया नाम गरेकी युवतीले हातमा नेपालको राष्ट्रिय झन्डा समातेर आयलभयु नेपाल भन्दै जोडजोडले हुटिङ गरी रहेकी थिइन् । नेपाली महिला साथीको साथमा आएकी मायाले नेपाली गीतसंगीतमा समेत नाँचेर मनोरन्जन लिइन् । उनको प्रस्तुतिले कार्यक्रममा सबैको ध्यान केन्दि«त गरेको थियो । कार्यक्रम कस्तो लाग्यो भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले कार्यक्रम धेरै राम्रो लागेको भन्दै हातमा समातेको नेपालको झन्डा देखाउँदै धेरै मन परेको बताइन् । उनले भिनन् “भविष्यमा म नेपाल घुम्न जानेछु ।”

रातो रङको फुलबुट्टे सारी र रातै रङको हाप ब्लाउज लगाएर माल्टाकी तानिया अतिथि पाहुना बनेर नेपाली नयाँ वर्ष मानाउन कार्यक्रममा आएकी थिइन् । रातो रङको सेतो फुलबुट्टा भएको कपालमा लगाउने डोरीको चुल्ठी लगाएर, कानमा झुम्का, दाँया हातमा रातो र पहेलो रङको चुरा, बाँया हातमा गोल्डेन कलरको घडी र बाला, खुट्टामा सेतो रंङको जुत्ता लगाएर नेपाली पहिरनमा चिटिक्क परेर सजिएर आएकी तानियाको उपस्थितिले कार्यक्रममा थप आकर्षण थपेको थियो । उनले भनिन्,“ मलाई नेपाल र नेपालीहरु धेरै मन पर्छ । हाम्रो देशमा पनि नेपालीहरुले आफ्नो देशको कला, संस्कृति देखाएर नेपाललाई चिनाउने काम गरेकोमा खुसी लागको छ । नेपाली पहिरन लगाएर कार्यक्रममा आउन पाउँदा मलाई धेरै खुसी लाग्यो ।” मैले लगाएको यो नेपाली पहिरन नेपालबाट मगाएकी हुँ ।

त्यसैगरी माल्टाकै कार्रलिनी दि डिमोनिका पनि मगर समुदायले लगाउने पहिरन लगाएर आएकी थिइन् । रातो रङकै मखमली फुलबुट्टा भएको चोली र कालो र सेतो रंगको धोती, शरीरमा सल र निलो रङको कपालमा लगाउने डोरीको चुल्ठी लगाएर कार्यक्रम स्टेजको दाँयातर्फ कुर्सिमा बसेकी उनले नेपाली साँस्कृतिक कार्यक्रमलाई ध्यान दिएर हेरेकी थिइन् । मगर पहिरनमा सजिएर आएकी उनको नेपालीपनको प्रेमले सद्भावको सन्देश दिई रहेको थियो । नेपाली कला संस्कृति र साँस्कृतिक पक्षको उनले दिल खोलेर प्रशंसा गरिन् ।

कार्यक्रममा नेपालको पर्यटकीय स्थान चिनाउनको लागि पर्चा, ब्रोसर वितरण गरेर पर्यटन प्रवद्र्धनको प्रचार पनि गरिएको थियो । माल्टा घुम्न आएका इटालिनका राफर फोर्डको दम्पतीले नेपाली कार्यक्रमलाई नियाल्दै सँगै ब्रोसरमा नेपाललाई हेरी रहेका थिए । उनीहरुले नेपालको राष्ट्रिय झन्डा समातेर नेपाली पत्रकारसँग फोटो पनि खिचे । माल्टामा नेपालीहरुको कार्यक्रम देख्दा धेरै खुसी लागेको भन्दै नेपालको संस्कृति आफूहरुलाई राम्रो लागेको उनीहरुले बताए ।

माल्टाका परराष्ट्र तथा पर्यटनका लागि स्थायी सचिव क्रिस्टोफर कुटाजार विशेष अतिथि रहेको कार्यक्रममा माउण्टेनियरिङ्ग एशोसिएशन माल्टाका अध्यक्ष साइमन एल्डेन, पहिलो माल्टाली माउण्ट एभरेष्ट आरोही विशेष अतिथि रहेका थिए । त्यसैगरी मार्को कार्मेनो, माउण्ट एभरेष्ट बेस क्याम्प भ्रमणकर्ता पिएरे फारुगिया सहित स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरू शेरोन रेलडिच, डाक्टर जोनाथन अबेला, डाक्टर कार्ल कोर्डिना, मार्गरेट बाल्डाचिनो, मारियो माम्बो, जो फ्लाजोन पनि विशेष अतिथिको रुपमा सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गरेका अतिथि वक्ताहरुले नेपालको पर्यटन प्रबद्र्धनका साथै नेपाली संस्कृतिको चर्चा गरेका थिए ।

नेपालीहरुको देशप्रेमको भावना, एकता र मेलमिलापको खुलेर उनीहरुले प्रशंसा पनि गरे । माल्टाका लागि पर्यटन दूत प्रकाश भण्डारी, एनआरएनए आईसीसी युरोप सचिव भुवन अर्याल, एनआरएनए माल्टाका सल्लाहकार एवं जनसम्पर्क समिति माल्टाका सभापति हरी बीसी, एनआरएनए माल्टाका सत्य झा, एनआरएनए माल्टाका पूर्व महासचिव रोशन गिरीले देश विदेशमा रहेका नेपालीहरुलाई नयाँ वर्षको शुभकामना दिदै कार्यक्रमले नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने मन्तव्य राखेका राखेका थिए । नेपाली पहिचान र संस्कृति झल्काउने पहिरनका साथ प्रस्तुत गरिएको साँस्कृतिक कार्यक्रमले नेपाललाई चिनाएको उनीहरुले बताए ।

माल्टा भ्रमणमा रहेका पूर्व वडा अध्यक्ष शिवलाल अर्याल र पूर्व महिला स्वास्थ्यकर्मी तुलसा अर्यालको दम्पती पनि कार्यक्रमको अतिथिको रुपमा रहेका थिए । उनीहरुले माल्टामा नेपालीहरुको एकता, सामाजिक सद्भाव र मेलमिलापको भावना देखेर खुसी लागेको बताए । माल्टामा आयोजना गरिएको नेपाली पहिचान झल्काउने कार्यक्रमले पर्यटनको प्रबद्र्धन गर्दै नेपाललाई चिनाएको उनीहरुले बताए । विदेशमा पसिना बगाएर दुःख गरेर कमाएको पैसाले नेपालीहरु देशलाई चिनाउन लागी परेका छन् । यस्ता कार्यक्रममा सरकारले लगानी गरेर आफ्नो उपस्थिति देखाउनु पर्नेमा जोड दिदै सरकारको लगानी बिना लाखौं रुपैया उठाएर देशको शीर उच्च बनाउने गरी कार्यक्रम आयोजना .गर्ने माल्टामा रहेका नेपालीप्रर्ती शिवलालले सम्मान व्यक्त गरे ।

कार्यक्रममा  नेपाली खानालाई विश्वमा चिनाउनका लागि अन्तराष्ट्रिय सेफ सोसाइटी माल्टाका नेपाली सेफहरुले सेफकोट लगाएर कार्यक्रममा आएका थिए । माल्टामा नेपाली सेफहरुले निकालेको गीतमा कार्यक्रमका सहभागीहरु छमछम्ती नाँचेर रमाइलो गरेका थिए । नेवा समाज, गुरुङ समाज, तामाङ समाज, मगर समाज, राई समाज, पूर्वाञ्चल समाज, नेपाली सोसाइटी माल्टा, एनएसएम ब्याण्ड र एनएमबि ब्यान्डले नेपाली संस्कृति झल्किने प्रस्तुति देखाएका थिए । एनआरएनए माल्टाको अगुवाईमा नेपाली विभिन्न सामाजिक संघसंस्था र माल्टामा रहेका नेपालीहरुको सामुहिक पहल तथा समन्वय र सहकार्यमा नेपाली डे नयाँ वर्षको कार्यक्रम आयोजना गरिएको थियो ।

एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालको (रेम्स) को अध्यक्षतामा भएको कार्यक्रमको कलात्मक तरिकाले एनआरएनए माल्टाकी महिला संयोजक धना लामाले संचालन गरेको कार्यक्रमको मिडिया पार्टनरको रुपमा रहेको माल्टा नेपाल अनलाइनले लाइभ गरेको थियो । कार्यक्रमका अतितिहरुलाई एनआरएनए सल्लाकार काब्य कुटुवाल, सबिता भण्डारी र एनआरएनए महिला उपाध्यक्ष सबनम गुरुङले निधारमा रातो अक्षता पुष्पगुच्छा र खादाले स्वागत गरेका थिए भने अध्यक्ष खनालले कार्यक्रमका अतिथिहरुलाई नेपाल चिनाउने मायाको चिनो प्रदान गरेका थिए ।

 

 

Share:

सम्बन्धित समाचारहरू