माल्टा नेपाल अनलाइन डेस्क / अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको सूचना तथा संचार विभागको बैठक सम्पन्न भएको छ । सेप्टेम्बर ३ तारीखका दिन अनलाइन भर्चुअल मार्फत पहिलो बैठक सम्पन्न भएको हो ।
सूचना तथा संचार विभागका प्रमुख धनराज विक (अविरल) ले समन्वय गरेको बैठकमा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीले संस्था स्थापनाको महत्व र विभिन्न विभाग गठन गर्नुको उद्देश्य बारे जानकारी गराएका थिए ।
बैठकले संस्थाको पहिचानको लागि पोडकास्ट संचालन गर्ने निर्णय गरेको छ । जसका लागि पोडकास्टको सम्पूर्ण तयारीको लागि सेफहरु क्रमशः साईप्रसबाट युवराज तामाङ, न्युजल्याण्डबाट सुवास खड्का र कोलकत्ताबाट सन्तोस बुढाथोकीलाई जिम्मेवारी प्रदान गरेको सूचना तथा संचार विभागका प्रमुख धनराज अविरलले बताए ।
त्यसैगरी बैठकले सुचना तथा संचार विभागको प्रत्येक महिनाको २ पटक बैठक बस्ने, सामाजिक संजालमा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका गतिबिधिलाई सम्प्रेषण गर्दै संस्थामा आवद्ध भएका सबैले सक्रिय रुपमा सामाजिक संजालको प्रयोग गर्ने र अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीले गठन गरेका विभिन्न विभागहरुमा जिम्मेवारी प्राप्त गरेकाहरुलाई संस्थाबाट आधिकारिक पत्र र प्रमाणपत्र समेत प्रदान गर्ने निर्णय भएको संस्थाका अध्यक्ष अरुण अधिकारीले बताए ।
नेपाली खानालाई विश्वमा चिनाउन अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको स्थापना भएको हो । विश्वमा छरिएर रहेका नेपाली भान्से (सेफ) हरु एक भएर नेपाली खानालाई चिनाउन अग्रसर भएर लागि परेका छन् । रोजगारीको सिलसिलामा नेपाल हुँदै विदेशका विभिन्न ठाउँमा पुगेर भान्से ( सेफको) काम गरी रहेका नेपालीहरुलाई एकतावद्ध गर्ने र विश्वमा नेपाली खानाको परिकारको प्रचार प्रसार गर्ने उद्येश्यले संस्था गठन गरिएको अध्यक्ष अरुण अधिकारीले बताए ।