माल्टा नेपाल अनलाइन डेस्क /माल्टामा बसोबास गरिरहेका याक्थुङ (लिम्बू) समुदायले चासोक तङ्नाम तथा उधौली पुजा येले तङ्बे ५०८५ किराँत सम्वत तथा सन् २०२६ अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएका छन्।
किराँत याक्थुङ चुम्लुङ माल्टाको आयोजनामा हुन लागेको उक्त कार्यक्रम लिम्बू कला, संस्कृति, संस्कार र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। कार्यक्रम आउँदो जनवरी १० तारिख बिहान १० बजेदेखि जिरा स्थित ओर्फियम थिएटरमा सम्पन्न हुनेछ। कार्यक्रममा लिम्बू भेषभूषा, परम्परागत संस्कार, चाब्रुङ, केलाङ, यालाङ, हाक्पारे साम्लो लगायत विविध सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ।
संस्थाका अध्यक्ष प्रेमराज फोम्बो लिम्बूले विदेशमा रहे पनि आफ्नो भाषा, धर्म र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए। उनले माल्टामा रहेका सम्पूर्ण याक्थुङ (लिम्बू) दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवारसहित तथा माल्टाबासी सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई मौलिक संस्कृतिको संरक्षणमा हातेमालो गर्न हार्दिक अनुरोध गरे।
त्यस्तै, संस्थाका महासचिव दर्शन लिवाङ लिम्बूले यो कार्यक्रम केवल एक पर्व मात्र नभई भावी पुस्तामा मौलिक पहिचान हस्तान्तरण गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गरे। “हामी विदेशमा रहे पनि आफ्ना भाषा, संस्कार र परम्परालाई जति जोगाउन सक्छौं, त्यति नै हाम्रो पहिचान बलियो हुन्छ,” उनले बताए।
आयोजक संस्थाका अनुसार उक्त कार्यक्रमले माल्टामा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सद्भाव, सांस्कृतिक चेतना र सामाजिक एकता अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।



