गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातबाट निधन

Share:

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। भारतीय चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’ का विजेतासमेत रहेका तामाङको आज बिहान भारतको दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो। चलचित्रकर्मी रजनी केसीले दिएको जानकारीअनुसार तामाङ दिल्लीको आफ्नै अपार्टमेन्टमा अचेत अवस्थामा फेला परेका थिए। प्रारम्भिक विवरणअनुसार उनको मृत्यु हृदयघातका कारण भएको बताइएको छ।
रजनी केसीले यस दुःखद घटनाबारे जानकारी दिँदै प्रशान्तको असामयिक निधनले नेपाली कला क्षेत्रलाई गहिरो आघात पुगेको बताएका छन्। “आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा उहाँको निधन भएको खबर प्राप्त भएको हो। हृदयघात भएको भन्ने जानकारी आएको छ,” उनले भनेका छन्।
४३ वर्षका तामाङ सन् २००७ मा ‘इन्डियन आइडल’ को तेस्रो संस्करण जितेपछि अन्तर्राष्ट्रिय स्तरमै परिचित भएका थिए। भारतीय टेलिभिजनमार्फत उनले नेपाली प्रतिभाको पहिचान विश्वभर पुर्‍याएका थिए। उनको जितलाई नेपाली समुदायले ऐतिहासिक उपलब्धिका रूपमा लिएको थियो।

गायनसँगै अभिनयमा पनि सक्रिय तामाङले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्। उनले विभिन्न चलचित्रमा अभिनय गर्नुका साथै थुप्रै लोकप्रिय गीतहरू गाएका छन्। ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ उनका चर्चित गीतहरूमध्ये पर्छन्, जसले श्रोता–दर्शकमाझ विशेष स्थान बनाएको छ।
प्रशान्त तामाङको निधनको खबरपछि नेपाली संगीत, चलचित्र तथा कला क्षेत्रका कलाकार र प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। उनको असामयिक निधनले नेपाली कला क्षेत्रले एक प्रतिभाशाली स्रष्टा गुमाएको छ।

Share:

सम्बन्धित समाचारहरू