अगस्ट २० मा १९७४ एडीको रक यात्राले माल्टामा नेपाली संगीतलाई गुञ्जायमान बनाउँदै

Share:

माल्टा नेपाल अनलाइन / नेपाली संगीत क्षेत्रको चर्चित तथा लोकप्रिय रक ब्यान्ड १९७४ एडीको बहुप्रतीक्षित सांगीतिक प्रस्तुति भोलि अर्थात् अगस्ट २० मा माल्टामा गुञ्जिने भएको छ। माल्टाको ता’ आली स्थिति युनो माल्टा,क्राफ्ट भिलेज,अत्तार्डमा गुञ्जिने यो कार्यक्रम एभरेस्ट इन्टरटेनमेन्ट र ह्वाट्स नेक्स्ट इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुन लागेको हो ।
‘१९७४ एडी रक यात्रा–माल्टा संस्करण २०२६’ले माल्टामा रहेका नेपाली संगीतप्रेमीलाई एकै ठाउँमा जोड्ने अपेक्षा गरिएको छ। ‘यो मन त मेरो नेपाली हो’भन्ने भावनासहित नेपाली संगीतप्रेमीहरूको मनमा छुट्टै पहिचान बनाउन सफल १९७४ एडीको माल्टा प्रस्तुति नेपाली समुदायका लागि विशेष सांगीतिक उत्सव बन्ने देखिएको छ। ‘परेलीमा’,‘सम्बोधन’,‘गुराँसै फुल्यो’,‘हिँड्दा हिँड्दै’,‘छुँदैन तिम्रो मायाले’जस्ता लोकप्रिय गीतमा माल्टाबासी नेपाली संगीतप्रेमी झुम्ने तयारीमा छन्।
कार्यक्रमका लागि बेलुका ८ बजेबाट गेट खुला हुने र ९ बजेबाट डीजे कालेका प्रस्तुतिसहित कार्यक्रमको शुभारम्भ हुनेछ। त्यसपछि राति १०/११ बजेबाट १९७४ एडीको विशेष लाइभ प्रस्तुति सुरु हुने र ब्यान्डले आफ्ना चर्चित गीत तथा रक प्रस्तुतिमार्फत दर्शकलाई लामो समयसम्म मनोरञ्जन प्रदान गर्ने तयारी रहेको एभरेस्ट इन्टरटेनमेन्टका सञ्चालक दिनेश कार्कीले जानकारी दिए।
१९७४ एडी अहिले युरोप टुरमा रहेको र सोही क्रममा माल्टामा विशेष प्रस्तुति दिन लागेको आयोजकले जनाएको छ। लामो समयपछि लोकप्रिय नेपाली ब्यान्डलाई प्रत्यक्ष हेर्न र आफ्ना प्रिय गीतमा सँगसँगै गाउन पाउने भएपछि माल्टामा रहेका नेपालीहरूमा कार्यक्रमलाई लिएर उत्साह बढ्दै गएको छ।

कार्यक्रमका लागि भीआईपी टिकट ७५ युरो तथा साधारण टिकट ४५ युरो निर्धारण गरिएको छ। टिकट बुकिङमा उल्लेख्य आकर्षण देखिएको र भीआईपीलगायत विभिन्न श्रेणीका टिकट बुक भइसकेको आयोजकले जानकारी दिएका छन्। कार्यक्रमको दिन टिकटको अभाव हुन सक्ने भएकाले इच्छुक दर्शकलाई समयमै आफ्नो टिकट सुरक्षित गर्नसमेत आयोजकले आग्रह गरेका छन्। कार्कीका अनुसार, विदेशमा रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै गीत–संगीतको माध्यमबाट मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली कला, संस्कृति र संगीतसँग प्रवासी नेपालीलाई जोडिराख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उनले अगस्ट २० को रातलाई माल्टामा नेपाली संगीतले गुञ्जिने विशेष रात बनाउन सम्पूर्ण नेपालीको साथ र सहभागिता आवश्यक रहेको बताए।

माल्टाको ता’आलीमा गुञ्जिने १९७४ एडीको रक संगीतले प्रवासमा रहेका नेपालीलाई मनोरञ्जनसँगै आफ्नोपन, पुराना सम्झना र नेपालीपनको अनुभूति गराउने अपेक्षा गरिएको छ। त्यसैले अगस्ट २० को यो विशेष सांगीतिक रातमा सम्पूर्ण नेपाली तथा संगीतप्रेमीलाई सहभागी भई १९७४ एडीको रक यात्रालाई प्रत्यक्ष अनुभव गर्न आयोजकले आग्रह गरेका छन्।

Share:

सम्बन्धित समाचारहरू