काठमाडौं / सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभाका उम्मेदवार तथा धरान उपमहानगरपालिकाका निर्वतमान मेयर हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । चुनावी प्रचार–प्रसारका क्रममा बालबालिकालाई प्रयोग गरेको आरोप लगाउँदै धरान नगर बाल सञ्जालले उजुरी दिएको हो ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले फागुन २१ गते हुने निर्वाचनको प्रचारका क्रममा बालबालिकालाई संलग्न गराएको दाबी गर्दै बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय सुनसरी र निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको जनाएको छ ।
उजुरीमा बालबालिका ऐन, २०७५ अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ । तर सो कानुनी प्रावधानविपरीत उम्मेदवार साम्पाङको गतिविधि देखिएको सञ्जालको जिकिर छ ।
बाल सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई घटनाबारे छलफल गर्न तथा निर्वाचन आचारसंहिता उल्लंघन गरेमा आवश्यक कारबाही गर्न माग गरेको छ ।
निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उजुरीमाथि अध्ययन गर्न प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले घटनाको छानबिन गरी आवश्यक निर्णय अघि बढाउने उनले बताए ।
बालबालिका ऐनअनुसार बालबालिकाको राजनीतिक प्रयोजनका लागि प्रयोग भएको पुष्टि भएमा एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । साथै गम्भीर उल्लंघन ठहरिए उम्मेदवारीसमेत खारेज हुन सक्ने कानुनी प्रावधान रहेको छ ।


