कैलालीका युवा तारा सिंह बोहराको माल्टामा असामयिक निधन

Share:

माल्टा नेपाल अनलाइन /  नेपालको कैलाली जिल्लाका स्थायी बासिन्दा तथा रोजगारीका सिलसिलामा विगत करिब सात महिनादेखि माल्टामा बसोबास गर्दै आएका २५ वर्षीय  युवा तारा सिंह बोहराको असार १८ गते (जुलाई २, २०२६) असामयिक निधन भएको छ। उहाँको निधनको खबरले माल्टा र गोजोमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ भने नेपालमा रहेका परिवारजन गहिरो शोकमा डुबेका छन्।

वैदेशिक रोजगारीमार्फत उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले माल्टा पुगेका बोहराको अल्पायुमै भएको निधनलाई नेपाली समुदायले अत्यन्त दुःखद घटनाका रूपमा लिएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। घटनापछि उहाँको पार्थिव शरीर आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाउने तयारी थालिएको छ। यसका लागि एनआरएनए एनसीसी माल्टा ले सम्बन्धित सरकारी निकाय तथा सरोकारवालासँग आवश्यक प्रशासनिक समन्वय र कानुनी प्रक्रिया तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ।

पार्थिव शरीर नेपाल पठाउने प्रक्रिया खर्चिलो हुने भएकाले आवश्यक आर्थिक सहयोग जुटाउन सहयोग अभियान सञ्चालन गरिएको छ। यसका लागि GoFundMe मार्फत सहयोग सङ्कलन भइरहेको छ। माल्टा र गोजोमा रहेका नेपाली समुदाय, विभिन्न संघ–संस्था, व्यवसायी तथा सहयोगी मनहरूलाई मानवीय भावनाका साथ सक्दो आर्थिक सहयोग गर्न आग्रह गरेको छ।

एनआरएनए एनसीसी माल्टाका अनुसार सङ्कलित सहयोग रकम स्वर्गीय तारा सिंह बोहराको पार्थिव शरीर नेपाल पुर्याउनु र जन्मभूमिमै अन्तिम संस्कार सम्पन्न गराउन प्रयोग गरिने जनाइएको छ। यस दुःखद घडीमा पीडित परिवारको साथमा उभिन सम्पूर्ण नेपाली समुदायसँग सहयोग र ऐक्यबद्धताको अपिल गरिएको छ।

Share:

सम्बन्धित समाचारहरू