नेपाली समाजको यथार्थ बोकेको चलचित्र ‘गौथली’ अगस्ट ८ तारीख माल्टामा प्रदर्शन हुँदै

Share:

माल्टा नेपाल अनलाइन
नेपाली समाजको यथार्थ, गाउँघरको परिवेश र महिलाको संघर्षलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको नेपाली चलचित्र ‘गौथली’ आगामी अगस्ट ८ तारीख  माल्टामा प्रदर्शन हुने भएको छ। माल्टाको सेन्ट जुलियन्सस्थित इडन सिनेमाजमा राति १०:४५ बजे प्रदर्शन हुने चलचित्रको आयोजना नेप–फाइभ इन्टरटेन्मेन्टले गरेको हो।

निर्देशक कपिल रिजालको निर्देशन तथा डा. भोला रिजालको लेखन रहेको गौथली ले ग्रामीण नेपाली समाजका अनकहा कथा, महिलाले भोग्नुपरेका पीडा, त्याग, संघर्ष र सामाजिक यथार्थलाई भावुक शैलीमा प्रस्तुत गरेको छ। चलचित्रले मनोरञ्जनसँगै नेपाली समाजको वास्तविक चित्र दर्शकमाझ उतार्ने प्रयास गरेको निर्माण पक्षको विश्वास छ। चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, सीता देवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र सञ्जोग रसाइली लगायतका कलाकारहरूको अभिनय रहेको छ।

नेप–फाइभ इन्टरटेन्मेन्टका सञ्चालक सुवास ढकालले माल्टामा नेपाली चलचित्रप्रति दर्शकको उत्साह निरन्तर बढिरहेको बताउँदै गौथली ले पनि नेपाली समुदायको राम्रो साथ पाउने विश्वास व्यक्त गरे। उनका अनुसार, प्रवासमा रहेका नेपालीलाई आफ्नै भाषा, संस्कृति र समाजको यथार्थसँग जोड्ने उद्देश्यले संस्थाले नियमित रूपमा नेपाली चलचित्र प्रदर्शन गर्दै आएको छ।

यसअघि नेप–फाइभ इन्टरटेन्मेन्टले माल्टामा प्रदर्शन गरेका नेपाली चलचित्रहरूले उल्लेखनीय सफलता प्राप्त गरेका थिए। त्यसैको निरन्तरतास्वरूप गौथली पनि दर्शकमाझ अविस्मरणीय अनुभव बन्ने अपेक्षा गरिएको छ। प्रवासको व्यस्त जीवनबीच आफ्नै माटो, गाउँघर र समाजको कथा ठूलो पर्दामा हेर्ने अवसर नेपाली समुदायका लागि विशेष हुने आयोजकको विश्वास छ। आयोजकले माल्टामा रहेका सम्पूर्ण नेपाली समुदायलाई समयमै टिकट बुक गरि नेपाली चलचित्रलाई साथ दिन आग्रह गर्दै  टिकट बुकका लागि यस लिंकबाट गर्न सकिने  जनाएका छन् ।

Share:

सम्बन्धित समाचारहरू