डिसेम्बर १४ तारीख देखि माल्टामा राहदानी नवीकरणको काम सुरुहुने भएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले डिसेम्बर १४ तारीख देखि १८ तारीख सम्म राहदानी नवीकरण हुने जानकारी दिएका छन् । एनआरएनए माल्टाको सहकार्यमा राहदानी विभाग नेपाल र स्पेनमा रहेको नेपाली राजदूतावासको समन्वयमा माल्टामा घुम्ती कन्सुलर सेवा शिविर मार्फत राहदानी नवीकरण लगायतका अन्य कन्सुलर सेवा प्रदान गरिने अध्यक्ष खनालले बताएका छन् ।
माल्टामा रहेका आप्रवासी नेपालीहरुको समस्या समाधानमा सहजता ल्याउन एनआरएनए माल्टा निरन्तर रुपमा लागि पर्दै आएको छ । हामीहरुले समयमै सेवा दिनेगरी कामको थालनी गरेपनि राहदानी सम्बन्धी प्रर्णालीमा देखिएको समस्याका कारण पहिले निर्धारित समयमा सेवादिन नसकेको खनालले बताए । डिसेम्बर १४ तारीख देखि सुरुहुने घुम्ती कन्सुलर सेवा शिविर सफल पार्नका लागि व्यवस्थापनमा सहयोग गर्न खनालले माल्टामा रहेका नेपाली निकट संघसंसथा र सरोकारवाला पक्षसंग अनुरोध गरेका छन् ।
माल्टामा घुम्ती कन्सुलर सेवा शिविर फेरी संचालन हुने भएपछि रोजगारको शिलशिलामा माल्टामा रहेका आप्रवासी नेपालीहरु खुसी भएका छन् । स्पेनमा नवीकरण गर्न आउँदा जाँदा खर्चहुने लाखौं रुपैया र समय जोगिने उनीहरुले बताएका छन् । राहदानी विभाग नेपाल र नेपाली राजदूतावासको समन्वयमा माल्टामा नोभेम्बर ३० तारीख देखि डिसेम्बर ४ तारीखसम्म पासपोर्ट नवीकरण लगातका अन्य कन्सुलर सेवा संचालन गर्ने राजदूतावासले पहिले सूचना जारी गरेको थियो ।
प्राबिधिक कारण देखाउँदै नोभेम्बर २४ मा सेवा अवरुद्ध भएको जानकारी गराएको राजदूतावासले नोभेम्बर २५ मा माल्टामा संचालन हुने घुम्ती कन्सुलर सेवा शिविर स्थिगित भएको जानकारी गराएको थियो । राहदानी सम्बन्धी प्रर्णालीमा देखिएको समस्या समाधान भएपछि एनआरएनए माल्टाको निरन्तरको पहलमा माल्टामा राहदानी नवीकरण लगातका अन्य कन्सुलर सेवा राहदानी विभाग नेपाल र नेपाली राजदूतावासले सुरु गर्न लागेको हो । एनआरएनए माल्टाका उपाध्यक्ष सत्य नारायण झाले माल्टामा घुम्ती कन्सुलर शिविर संचालन हुन लागेकोले सहयोगका लागि सबैसंग अपिल गरेका छन् । माल्टामा रहेका विभिन्न संघसंस्थाले घुम्ती कन्सुलर सेवा शिविर सफल पार्न संस्थागत रुपमा सहयोग गर्ने बताएका छन् ।