माल्टा नेपाल अनलाइन डेस्क / जातीय छुवाछूत विरुद्धको कानुन प्रभावकारी रुपमा कार्यन्वयन गर्न सरोकारवालाहरुले सरकारको ध्यानाकषर्ण गराएका छन् । टेवा अनुदान नेपालको सहयोगमा महिला जागरण केन्द्र नेपालको आयोजनामा सोमबार लम्कीमा भएको जातीय छुवाछूत विरुद्धको कानुन प्रभावकारी कार्यन्वयन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले जातीय छुवाछूत विरुद्धको कानुन प्रभावकारी कार्यन्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । जातीय छुवाछूत अन्त्यका लागि कार्यक्रममा सहभागी सरोकारवालाहरुले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
कानुन बनेर मात्र परिवर्तन नहुने भएकोले जातीय छुवाछूतको अन्त्यका लागि सरकारले कानुनको कार्यन्वयन गर्नुपर्ने बताएका हुन् । अहिलेसम्म कानुनको प्रभावकारी रुपमा कार्यन्वयन नभएकै कारण समाजमा जातीय छुवाछूतले बलियो जडा गाडेर बसेको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।

जातीय छुवाछूतका विरुद्ध तीनै तहका सरकारले समाजमा परिवर्तन देखिने गरी काम गर्नुपर्ने बताउँदै जातीय छुवाछूत समग्र विकास र परिवर्तनको बाधक भएको उनीहरुले आफ्नो धारणा राखेका थिए । सामाजिक क्षेत्रमा सक्रिय रहदै आएको महिला जागरण केन्द्र नेपालले जातीय भेदभाव अन्त्य गरौं, महिला हिंसा र घरेलु हिंसा बन्द गरौं भन्ने नाराका साथ महत्वपूर्ण विषयमा केन्द्रित रहेर कार्यक्रमको आयोजना गरेकोमा संस्थाको कामको प्रशंसा गरेका थिए ।
संस्थाका अध्यक्ष बिष्ना कुमारी बिसी (सपना) को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका नगरप्रमुख शुसिला शाही रहेकी थिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले जातीय छुवाछुतको साझा विषयमा कार्यक्रम आयोजना गरेको देख्दा आफूलाई खुसी लागेको बताइन् । जातीय समस्या दलितमा मात्र नभई सबै जातीमा समस्या भएको र छुवाछूत मात्र दलित समुदायमा हुने भएकोले यसको अन्त्यको लागि स्थानीय सरकारको प्रमुख भएकोले कानुनको पूर्ण कार्यन्वयन गर्न आफू अग्रसर रहेको शाहीले बताएकी थिइन् ।

परिवर्तनका लागि आफैले क्षमताको विकास गर्नुपर्छ । घरपरिवारबाटै परिवर्तनको सुरुवात गर्नुपर्छ । आफूहरु समाजमा नेतृत्व गर्र्दै जाने तर घरमा जातीय छुवाछूत गर्ने, महिनावारी हूँदा छोरीहरुलाई गोठमा सुताउने चिन्तनले सामाजिक परिवर्तन नहुनेमा शाहीले जोड दिईन् । संविधानमा उल्लेख भएका कुराहरुनै स्थानीय सरकारले लागू गर्ने हो । तर जातीय छुवाछूत विरुद्धको कानुन कार्यन्वयन गर्न सरकार नै बलियो रुपमा लाग्नुपर्ने शाहीले बताएकी थिईन् । कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय दलित अयोगकी पूर्व सदस्य रमा बादीले कानुन कार्यन्वयन सँगै सामाजिक गतिबिधि संचालन गर्न बजेटको पनि आवश्यक पर्ने भएकोले सरकारको त्यतातिर जानुपर्ने बताएकी थिइन् ।
कार्यक्रमको समापन गर्दै महिला जागरण केन्द्र नेपालकी अध्यक्ष बिष्ना कुमारी बिसी (सपना) ले कार्यक्रम संचालनमा आर्थिक सहयोग गर्ने टेवा अनुदान नेपाल, कार्यक्रम सफल पार्न सहयोग गर्ने लम्कीचुहा नगरपालिकालाई धन्यवाद् दिएकी थिईन । महिलहरुले स्थापना गरेर महिलाहरुकै सहभागितामा सक्रिय रहँदै आएको संस्थाको विकासमा स्थानीय सरकारले लगानी गरीकम गर्नुपर्ने बताएकी थिईन् ।

संस्थाको स्थापना भएदेखि नै महिला जागरण केन्द्रले सामाजिक न्याय र पपिरवर्तका क्षेत्रमा काम गर्दै आएको छ । संस्थाको अगुवाइमा र आफ्नो नेतृत्वमा छाउपडी गोठ भत्काउने अभियान समेत संचालन गरेर समाजका महिलाहरुले आफै गोठ भत्काएको बिसीले बताईन् । त्यसैगरी महिला घरेलु हिंसा, लैंगिक हिंसा, बाल विवाह र जातीय छुवाछुतका विरुद्ध पनि सचेतना कार्यक्रम संचालन गर्दै आएको उनले बताईन् ।
गोपाल सिंह विश्वकर्माले संचालन गरेको कार्यक्रमको उद्येश्य माथी टेवा अनुदान नेपालकी बाल कुमारी सुनारले प्रकाश पारेकी थिइन भने कार्यक्रमको सहजीकरण प्रशिक्षक प्रेम बिकले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, सरक्षाकर्मी, दलित अगुवा, पत्रकार र नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।



