माल्टामा स्तन क्यान्सरपीडित नेपाली चेली मञ्जूको उपचारका लागि आर्थिक सहयोगको अपिल

Share:

माल्टा नेपाल अनलाइन / रोजगारीका लागि परदेश पुगेका नेपालीहरूले सपना मात्रै होइन, अनेकौँ पीडा र संघर्ष पनि सँगसँगै बोकेर हिँड्नुपर्ने यथार्थ फेरि एकपटक उजागर भएको छ। आर्थिक अवस्था सुधार्ने आशामा माल्टा पुगेकी गोर्खा नगरपालिका–६, ताप्लेकी २९ वर्षीया मञ्जू परियार अहिले जीवन–मरणको संघर्षमा छिन्। बायाँ स्तनमा क्यान्सर पुष्टि भएपछि उपचारका लागि आर्थिक अभाव झेलिरहेकी उनले आफ्नो जीवन बचाइदिन सबै नेपाली समुदायसमक्ष भावुक अपिल गरेकी छन्।

घरको सबैभन्दा कान्छी छोरी मञ्जू गत डिसेम्बर १ मा रोजगारीका लागि माल्टा पुगेकी थिइन्। यसअघि उनी दुबईमा कार्यरत रहँदै माल्टाका लागि आवेदन दिएकी थिइन्। भिसा स्वीकृत भएपछि नेपाल फर्केर त्यहीँबाट ठूलो रकम खर्च गरी नयाँ भविष्यको सपना बोकेर माल्टा आइपुगेकी थिइन्।

तर, माल्टा आएको केही महिनामै उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो। अप्रिल महिनादेखि बायाँ स्तनमा असहज पीडा महसुस भएपछि उनले स्वास्थ्य परीक्षणका लागि प्रयास गरिन्। माल्टामा अस्पतालको अपोइन्टमेन्ट निकै ढिलो पाउने अवस्था देखिएपछि उनी नेपाल फर्किइन्। काठमाडौंस्थित अस्पतालमा गरिएको विस्तृत परीक्षणपछि उनको बायाँ स्तनमा क्यान्सर रहेको पुष्टि भयो।

नेपालमा करिब ३५ दिन बसेपछि उनी पुनः माल्टा फर्किन बाध्य भइन्। यसको मुख्य कारण थियो परिवारको अत्यन्त कमजोर आर्थिक अवस्था। घरमा आमासमेत लामो समयदेखि बिरामी रहेकी छन्। उपचारको खर्च धान्ने अवस्था नभएका कारण आफ्नै स्वास्थ्य अवस्था जटिल हुँदाहुँदै पनि उनले रोजगारी नछोडी फेरि माल्टा फर्कने कठिन निर्णय लिनुपरेको थियो।

हाल उनी माल्टाको सायरा क्षेत्रमा बस्दै आएकी छन्। क्यान्सरको पीडा दिनप्रतिदिन बढ्दै गए पनि उनले काम भने छोड्न सकेकी छैनन्। काममा जाँदा–आउँदा अत्यधिक पीडा सहनुपरेको, शारीरिक अवस्था कमजोर बन्दै गएको र प्रत्येक दिन दुःखाइ बढिरहेको उनले माल्टा नेपाल अनलाइनसँगको कुराकानीमा बताएकी छन्।

“आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि आवश्यक खर्च जुटाउन निकै कठिन भएको छ। म सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो जीवन बचाइदिन सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछु,” उनले भावुक हुँदै भनिन्। मञ्जूले आफ्नो कठिन परिस्थितिमा साथ दिने साथीहरूप्रति पनि कृतज्ञता व्यक्त गरेकी छन्। उनीसँगै बस्ने अमृता तामाङ र मुना तामाङले दैनिक आवश्यकतादेखि मानसिक हौसलासम्म निरन्तर साथ दिइरहेको उनले बताइन्।

उपचारका क्रममा उनको भेट गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् माल्टाका कार्यसमिति सदस्य दिनेश नागरिकसँग भएको थियो। आफ्नो सम्पूर्ण अवस्था सुनाएपछि दिनेशले इन्सुरेन्ससम्बन्धी जानकारी लिनेदेखि अस्पताल लैजाने–ल्याउने तथा आवश्यक समन्वयका काममा निरन्तर सहयोग गरिरहेको भन्दै मञ्जूले उहाँप्रति विशेष धन्यवाद व्यक्त गरेकी छन्। आर्थिक अभावका कारण उपचारमा समस्या भएकोले सहयोग आवश्यक रहेको दिनेश नागरिले बताए ।

त्यसैगरी, उपचार र सहयोगका विषयमा उनले एनआरएनए माल्टाको कार्यालयमा समेत भेटघाट गरेकी छन्। त्यहाँबाट पनि आवश्यक सहयोगका लागि पहल गर्ने र समुदायस्तरमा सहयोगको अपिल गरिने आश्वासन पाएको उनले जानकारी दिइन्।

वैदेशिक रोजगारीले धेरै नेपालीका सपना पूरा गरिदिएको छ। तर कतिपयका लागि यही परदेश जीवनकै सबैभन्दा ठूलो परीक्षा बन्न पुगेको छ। आफ्नो परिवारको भविष्य उज्यालो बनाउने उद्देश्यले हजारौँ किलोमिटर टाढा पुगेकी एक नेपाली चेली आज आफ्नै जीवन बचाउन सबैसँग सहयोगको याचना गर्न बाध्य भएकी छन्।

कमजोर आर्थिक अवस्था, घरमा बिरामी आमा, भर्खरै माल्टा पुगेको अवस्था, स्थायी आम्दानी नबन्दै गम्भीर रोगको सामना गर्नुपरेको पीडा र महँगो उपचारको बोझले मञ्जूको परिवार ठूलो संकटमा परेको छ। जीवनको यो कठिन घडीमा उनले सबै नेपाली समुदाय, सामाजिक संघसंस्था, व्यवसायी, शुभेच्छुक तथा मानवताप्रेमीहरूलाई सकेको आर्थिक सहयोग गरी उपचारमा साथ दिन हार्दिक अपिल गरेकी छन्।

परदेशमा संघर्ष गरिरहेका एक नेपाली चेलीको जीवन बचाउने अभियानमा जुट्नु केवल आर्थिक सहयोग मात्र होइन, मानवता, सहानुभूति र नेपालीपनको उदाहरण पनि हुनेछ। सानो–सानो सहयोगले पनि एउटा जीवन बचाउन सकिन्छ भन्ने विश्वासका साथ मञ्जूले सबैलाई आफ्नो उपचारमा साथ दिन भावुक आग्रह गरेकी छन्। एनआरएनए माल्टाका अध्यक्ष रोशन गिरिले क्यान्सरपीडित मन्जुको उपचारका लागि सहयोग गरिदिन सबैलाई अनुरोध गरेका छन् ।

Share:

सम्बन्धित समाचारहरू