स्पेनमा रहेका नेपालीहरु जनवरी ४ (यही १९ गते) विहिबारका दिन मज्जाले हाँस्न र नाच्न पाउने भएका छन् । एनआरएनए कोष्टाव्लाङका र नेपाल समाज एशोसियसन कोष्टाव्लाङकाले आयोजना गरेको सांगितिक कार्यक्रममा नेपालका चर्चित ३ कलाकार एकैसाथमा स्टेजमा उक्लिदैछन् । कोष्टाव्लाङकामा रहेको मरिना बेनिड्रम होटलमा नेपाली कलाकारले धमाका मच्चाउने भएका छन् ।
चर्चित गायक रामचन्द्र काफ्ले, जुनु रिजाल, हास्यकलाकार जितु नेपाल मुन्द्रेले स्पेनबासी र नेपालीहरुलाई हसाउने, नचाउने भएका हुन् । एनआरएनए कोष्टाव्लाङकाका संरक्षक, नेपाल समाज एशोसियसन कोष्टाव्लाङकाका पूर्वअध्यक्ष तथा हाँस्ने नाच्ने कार्यक्रमका संयोजक केशवराज कँडेलले करिब ४ सय जना नेपालीहरु रमाउने जानकारी दिए ।
जितु नेपालको स्पेनमा पहिलो कार्यक्रम हो भने रामचन्द्रले यसअघि बार्सिलोनमा प्रस्तुती दिइसकेका थिए । टिकट शुल्क २० युरो निर्धारण गरिएको संयोजक कँडेलले बताए । उनका अनुसार कार्यक्रम राती १० बजे सुरु हुने छ । गायक काफ्लेले स्पेनमा गीत मार्फत लाठी चार्ज गर्ने तयारी गरेका छन् । काफ्ले लोकपप गीतमा निकै लोकप्रिय गायक मानिन्छन् ।
गायिका जुनु रिजालले स्पेनबाट मायामा दोष कस्कोे भनेर प्रश्न गर्ने तयारीमा छिन् । हास्यविधामा निकै चर्चा कमाएका कलाकार जितु नेपालको मुन्द्रे कमेडी क्लब नेपालमा निकै लोकप्रिय छ । मेला, महोत्सव, स्टेजमा निकै हसाउने कलाकार भनेर चिनिएका मुन्द्रेले आफ्नो पढाईको राज स्पेनबाट खोल्ने तयारीमा छन् ।
नेपाली कला, संस्कृति जगेर्ना गर्दै नेपालीहरुलाई एक्यवद्ध गर्न कार्यक्रम गरिएको कार्यक्रम संयोजक कँडेलले बताए । स्पेनमा करिब १० हजार नेपालीहरु रहेका छन् । बार्सिलोना पछि कोष्टाव्लाङकामा सबैभन्दा धेरै नेपालीहरु छन् । स्पेन पछिल्ला वर्षमा रोजगारी खोज्दै नेपालीहरु जाने गन्तव्य बनेको छ ।