माल्टामा निधन भएका दुई नेपालीको शव मे ९ तारीख श्रद्धाञ्जलीपछि नेपाल पठाइने

Share:

माल्टा नेपाल अनलाइन डेस्क / माल्टा र गोजोमा बसोबास गर्दै आएका नेपाली समुदाय यतिबेला गहिरो शोकमा डुबेको छ। परदेशलाई कर्मथलो बनाउँदै  उज्ज्वल भविष्यको सपना बोकेका दुई युवा रामकुमार सिजाली र तुल्सिराम तामाङको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको छ। परिवारको आशा र आफ्ना प्रियजनको भरोसा बोकेर हजारौँ किलोमिटर टाढा पुगेका यी युवाहरूको अप्रत्याशित बिदाइले यहाँको नेपाली समुदाय मात्र होइन, नेपालस्थित परिवारजनसमेत शोकसागरमा डुबेका छन्।
स्वर्गीय रामकुमार सिजालीको पार्थिव शरीर २०२६ अप्रिल २८ र तुल्सिराम तामाङको अप्रिल २९ तारिखमा नेपाल पठाउने तयारी गरिएको छ। उनीहरूको आत्माको चिर शान्तिको कामना गर्दै तथा अन्तिम विदाइका लागि सामूहिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाले जनाएको छ।
एनआरएनए माल्टाका अध्यक्ष रोशन गिरीका अनुसार, उक्त श्रद्धाञ्जली सभा मे ६, २०२६ (बुधबार) बिहान १०:३० देखि ११:०० बजेसम्म मातरदेई अस्पतालको मर्चरी परिसरमा सञ्चालन हुनेछ। यस शोकपूर्ण घडीमा उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सम्पूर्ण नेपाली समुदायलाई हार्दिक आह्वान गरिएको उनले जानकारी दिए।
यसबीच, पार्थिव शरीर स्वदेश पठाउने प्रक्रियाका लागि आवश्यक समन्वय तथा आर्थिक व्यवस्थापनको कार्य तीव्र रूपमा अघि बढाइएको छ। ‘गोफन्ड’ मार्फत सहयोग संकलन अभियान सञ्चालनमा रहेको छ । जसले पीडित परिवारलाई केही राहत पुग्ने विश्वास गरिएको छ।
परदेशमा घट्ने यस्ता दुःखद घटनाहरूले नेपालीहरूलाई अझ नजिक ल्याउने गर्दछ। यस कठिन घडीमा सबैको साथ, सहयोग र ऐक्यबद्धताले दिवंगतप्रति सम्मान प्रकट गर्नुका साथै शोकाकुल परिवारलाई सान्त्वना मिल्ने अपेक्षा गरिएको छ।

Share:

सम्बन्धित समाचारहरू