माल्टामा (इन्लिगल) अवैधानिक रुपमा बसेका ३ जना नेपाली माल्टा इमिग्रेसन प्रहरीद्धारा पक्राउ परेका छन् । पक्राउ परेका तीनैजना नेपालीलाई माल्टा इमिग्रेसन प्रहरीले नेपाल पठाउने तयारी गरेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले बताएका छन् ।
माल्टा इमिग्रेसन प्रहरीको हिरासतमा रहेका उनीहरुलाई शुक्रबार (डिटेन्सन सेन्टरमा) एनआरएनए माल्टाका अध्यक्ष खनाल र सह–कोषाध्यक्ष सुवास तिमिल्सैना भेट्न गएका थिए । भेटमा पक्राउ परेका तीनैजना नेपालीलाई माल्टा इमिग्रेसन प्रहरीले नेपाल पठाउने तयारी गरेको खनालले बताए ।
पक्राउ परेकाहरुको विस्तृत जानकारी गोप्य राखिएको छ । कागजपत्र बिहिन भएर अवैधानिक रुपमा बसेका एकजना नेपाली २ महिना देखि पक्राउ परेर हिरासतमा रहेका थिए । उनलाई अवैधानिक रुपमा कामगरी रहेकै बेलामा माल्टा इमिग्रेसन प्रहरीले पक्राउ गरेको थियो । कागजपत्र बिहिन भएर अवैधानिक रुपमा बस्दै आएका अर्का २ जना मध्ये १ जना कामगरी रहेकै बेलामा र अर्का १ जनालाई माल्टा छोडेर अर्कोदेश जाँदैगर्दा माल्टा इमिग्रेसन प्रहरीले पक्राउ गरेको अध्यक्ष खनालले जानकारी दिएका छन् । पक्राउ परेका तीनै जनालाई नेपाल पठाउनको लागि आवश्यक पर्ने कागजपत्र नेपाली राजदूतावास म्यार्डिड र एनआरएनए माल्टाको समन्वयमा तयारपारी माल्टा इमिग्रेसन प्रहरीलाई बुझाएको खनालले जानकारी दिएका छन् ।
एनआरएनए माल्टाका उपाध्यक्ष सत्यनाराण झाले रोजगारीको सिलसिलामा माल्टामा आएका नेपालीहरु किन र कसरी अवैधानिक हुनपुगे भन्ने विषयको खोजी गर्नुपर्ने बताएका छन् । अवैधानिक हुनुमा मूख्यतया कामगर्ने कम्पनी र व्यक्ति जिम्मेवार देखिने गरेको झाले बताए । पछिल्लो समयमा पार्टटाइम काम गर्नेहरुले पार्टटाइम रजिश्टेसन नगरी काम गर्नाले धेरै समस्या देखिएकोले कानुन सम्वत् प्रक्रिया पूरा गरेर काम गर्नुपर्ने उनी बताउँछन् ।
माल्टामा पछिलो समय प्रहरीले चेकजाँचमा कडाइ गरेकोले माल्टामा रहेका आप्रवासी नेपालीले आफूलाई चाहिने कागजपत्र सधैं साथमा बोकेर नै हिड्नुपर्ने सुदूपश्चिम सेवा समाज माल्टाका अध्यक्ष दिपक ठगुन्नाले बताए । अवैधानिक हुने अवस्थाबाट जोगिन समयमै कागजपत्रको कामलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । माल्टा सरकारको नियम कानुनको पालना गर्दै आफूलाई सुरक्षित राखेर काम गर्नु पर्नेमा ठगुन्नाले जोड दिएका छन् ।