नोभेम्बर, ८
माल्टा/ गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाले प्रवासीले भोग्नुपरेका समस्या माल्टाको सदनमा उठाउन आग्रह गर्दै माल्टाका सांसद इभान क्यास्टिलोसँग भेट गरेको छ। तेस्रो मुलुकबाट आएकाहरुलाई सहज काम गर्ने नीतिहरु निर्माणका लागि अनुरोध गरेको छ । एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले नयाँ नियमले नन युरोपियन मुलुकबाट रोजगारीमा आएकाहरुले अनेक दु:ख भोग्नुपरेको दुखेसो गरेका थिए । जनवरीदेखि, पर्यटन, खानपान उद्योगमा रोजगारी खोज्ने गैर-इयु कामदारहरूले माल्टामा काम गर्न अनुमति लिन स्किल पास हुनुपर्ने प्रावधान लागु गर्ने माल्टा सरकारको तयारी छ । अध्यक्ष खनालले महंगो कोठाभाडा, काममा लाग्न गर्नुपर्ने लामो प्रक्रिया, महिनौं कुर्नुपर्ने बाध्यता, टिआरसी कार्ड नविकरण,जब टर्मिनेसनमा देखिएका समस्या बारे सांसदलाई जानकारी गराएका थिए । सांसद क्यास्टिलोेले कामदारले भोग्नुपरेका समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराउन पहल गर्ने बताएका थिए । उनले नेपालीहरुले माल्टाको आर्थिक विकासमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । नेपालीको मिहेनत, इमान्दारिता अनुकरणीय रहेको बताए । भेटमा एनआरएनए माल्टाका बरिष्ठ उपाध्यक्ष मधु गुरुङ, महासचिव सन्देश केसी, सहकोषाध्यक्ष सुबास तिम्सिना, सदस्य दिपेश गुरुङ लगायत सहभागि थिए ।