एनआरएनए संस्थामा चिरा परेको छ : हामी किन चुप्छौ ?

Share:

भुवन अर्याल

दुई दशक भन्दा लामो इतिहास बोकेको संस्था, गैर आवासीय नेपाली संघ (एनआरएनए) संस्था कहिल्यै नफुट्ने, कहिल्यै नढल्ने हामी सबैको साझा सपना थियो तर त्यो सपना सपनामा मात्र सिमित हुने अवस्था सिर्जना भएकोले निकै दुख लागेको छ । आज (एनआरएनए) संस्था टुक्रा–टुक्रा मात्रै होइन, स्पष्ट रूपमा दुई टुक्रामा विभाजित भइसकेको छ । अझैंपनि यो संस्था जोगाउने अन्तिम घडीमा हामीहरु रहेकोले संस्थाालाई पुनः एकजुट बनाउद विश्वसनीय बनाउने अन्तिम मौका कसैले पनि गुमाउने काम गर्नु हुदैन । अब पनि हामी चुप बस्यौं भने, अब पनि हामी आफ्ना व्यक्तिगत आक्षेप र स्वार्थमा अल्झिरह्यौं भने, इतिहासले हामीलाई क्षमा गर्ने छैन यसतर्फ हामी सबैको समयमै ध्यान जान जरुरी छ ।

एनआरएनए संस्था धराशय हुने अवस्थामा पुगेकोले संस्थालाई जोगाउन डा. बद्री केसीज्यू, महेश श्रेष्ठज्यू, तपाईंहरूलाई म सम्मानपूर्वक अनुरोध गर्न चाहन्छु कि कृपया अब अगाडी आउनुहोस् । सम्झनुहोस्, तपाईंहरूजस्ता नेतृत्वदायी अग्रजहरूको काँधमा मात्र होइन, तपाईंहरूको विवेक र निष्ठामाथी पनि हजारौं एनआरएन सदस्यहरूको भरोसा टाँसिएकोले एनआरएनएलाई जिवन्त बनाउन अग्रसर हुनेबेला हो अब अग्रसर हुनु होस् । संस्था संकटमा पर्न लागेको बेलापनि हामीहरु चुक्यौं भने संस्था बाँच्दैन । पुनः एनआरएनए एकता सम्भव छ । तर त्यो मार्ग तपाईँहरूजस्ता निःस्वार्थ नेतृत्वकर्ताहरूले देखाउनै पर्छ । म आफै निर्वाचित प्रक्रियाबाट यो संस्थाको अंग बनेको व्यक्ति हुँ । यहाँहरु सबैको सहयोग समर्थन र विश्वासले मैले जिम्मेवारी पाएको थिए । मलाई जिम्मेवारी प्रदान गर्ने सबैलाई धन्यवाद । तर मेरो मनभित्र भने गहिरो असन्तुष्टि रहेको छ । किनभने संस्था जोगाउनका लागि जसरी हामीहरु लडेका थियौं, अहिले हाम्रो नजरै अगाडी संस्था टुक्रा–टुक्रा पारिदै छ ।

हामी नेताहरु भन्न रुचाउँछौं तर नेतृत्व त्यही बेला सफल हुन्छ जब हामी साझा भावनालाई समेट्न सक्छौं । आज त्यो नेतृत्व अलमलिएको आभास हुन थालेको छ । म ती सबै नेताहरुलाई, विशेष गरेर केन्द्रमा बन्द कोठाभित्र बसेर आफैंलाई टीका लगाउनेहरुलाई सोध्न चाहन्छु, तपाईंलाई साँच्चिकै आत्माबाट खुशी मिलिरहेको छ ? संस्थालाई झन् कमजोर बनाउने निर्णय गरेर, इतिहासकै सबभन्दा विभाजित अध्याय लेखेर, के साँच्चै सन्तोष छ तपाईंलाई ? टीका त लगाइयो, फोटो त खिचियो तर त्यो तस्वीरमा जनताको विश्वास छैन, भावना छैन, एनारएनए संस्था पनि छै्रन, यो काम कुनैपनि तरिकाले पूर्ण छैन भन्ने किन लागेको छैन तँपाईहरुलाई ?

फेरीपनि म विशेष रूपमा आग्रह गर्न चाहन्छु, तपाईंहरूले केवल समाधान होइन, “मार्ग” निर्माण गर्नुहोस् । मार्ग यस्तो होस्, जसले दुबै पक्षलाई आत्मसम्मान मिल्न सकोस् । मार्ग यस्तो होस्, जहाँ नेतृत्व होइन, संस्था अगाडी होस् । मार्ग यस्तो होस्, जुनमा सकारत्मक सोच, आत्मा सन्तुष्टि, निष्ठा र दीर्घकालीन सोच र विचार झल्कियोस् । तर साथसाथै म गम्भीर रुपले ध्यानाकर्षण पनि गर्न चाहन्छु ।

हामीलाई मिल्न नदिने, हाम्रो दुरीलाई अझ गहिरो बनाउन चाहने केही ‘बिचौलिया’हरू सक्रिय छन् । यि बिचौलियाहरू न नेतृत्वको मित्र हुन्, न संस्थाको शुभचिन्तक हुन । उनीहरूको उद्देश्य केवल अस्थिरता सिर्जना गर्नु, गुटबन्दीलाई बल दिनु, र संस्थालाई झनै खाल्डोमा धकेल्नु हो । यी तत्वहरूबाट सजग हुँदै संवेदनशील यो मोडमा गलत सल्लाह, स्वार्थी चालबाजी र बाह्य हस्तक्षेपबाट टाढा रहँदै संस्थालाई हामी सबै मिलेर जोगाउनै पर्छ । यो हाम्रो दायित्व र कर्तब्य पनि हो ।

अब एकता कुनै विकल्प होइन — अपरिहार्य आवश्यकता हो । संस्था टुट्यो भने हामी सबै हार्छौं । तर मिल्यौं भने मात्रै हामी जित्छौं यसैले म सबै एनआरएनए सदस्य,नेतृत्वकर्ता, र शुभेच्छुकलाई अपिल गर्न चाहन्छु, “संस्था पहिले, पद पछि । एकता पहिले, इगो पछि समाधान पहिले, स्वार्थ पछि ।” हामीले किन बिर्सियौं कि संस्था बलियो भयो भने मात्रै हामी बलिया हुन्छौं भन्ने ? संस्था बाँच्छ भने हामी बाँच्छौं ? हामी बाँच्छौं भने मात्र नेतृत्व गर्न पाइन्छ भनेर । यदि संस्था नै खण्डित भयो भने, हाम्रो व्यक्तिगत जितहरू पनि केवल पराजयका प्रहसन मात्र हुनेछन् ।

लेखक भुवन अर्याल एनआरएनए आईसीसी सदस्य, एनआरएनए युरोप कमिटी सचिव र एनआरएनए माल्टा पूर्व अध्यक्ष समेत हुन् ।

Share:

सम्बन्धित समाचारहरू