माल्टामा उभौली साकेला मनाइँदै, प्रवासमा मौलिक संस्कृतिको संरक्षणमा जोड

Share:

माल्टा नेपाल अनलाइन डेस्क / प्रवासमा बसोबास गर्ने नेपाली समुदायबीच मौलिक संस्कृति र पहिचान जोगाउने उद्देश्यसहित किराँत राई यायोक्खा माल्टा ले उभौली साकेला पर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।


आयोजकका अनुसार “उभौली साकेला, यलम्बर संवत् ५०८६” को शुभकामना आदान–प्रदानसहित आयोजना हुन लागेको उक्त कार्यक्रम आगामी मे ९ तारिख शनिबार दिउँसो १ बजेदेखि माल्टाको जिरा स्थित ओर्फियम थियटर मा सञ्चालन हुनेछ। यसलाई संस्थाले आफ्नो प्रथम ऐतिहासिक सांस्कृतिक कार्यक्रम को रूपमा प्रस्तुत गरेको छ।


किराँत समुदायको महत्वपूर्ण चाड उभौली साकेला प्रकृतिपूजक परम्परासँग जोडिएको पर्व हो। उभौली अर्थात् उकालो लाग्ने समयको प्रतीकका रूपमा मनाइने यस पर्वमा राम्रो बाली, सुख, शान्ति र समृद्धिको कामना गरिन्छ। साकेला नाच (सिली) मार्फत सामूहिक रूपमा प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने परम्पराले समुदायबीच एकता र सहकार्यलाई बलियो बनाउँदै आएको छ।
संस्थाका अध्यक्ष प्रकाश बान्तावा राई ले प्रवासमा पनि सांस्कृतिक पहिचान जोगाउनु आवश्यक रहेको उल्लेख गर्दै नयाँ पुस्तामा परम्परा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। त्यस्तै, महासचिव सुरेन्द्र राई ले उभौली साकेलालाई सांस्कृतिक एकताको प्रतीकका रूपमा व्याख्या गरेका छन्।
कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष धनेन्द्र राई का अनुसार कार्यक्रममा साकेला नाच, मौलिक गीत–संगीत, सांस्कृतिक झाँकीलगायत विविध प्रस्तुति समेटिने छन्। कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको पनि उनले जानकारी दिए।
आयोजकले माल्टामा रहेका सम्पूर्ण नेपाली समुदाय, संघ–संस्थाका प्रतिनिधि तथा संस्कृतिप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन आह्वान गरेका छन्। उक्त कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच सांस्कृतिक एकता, सद्भाव र पहिचानलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।

Share:

सम्बन्धित समाचारहरू