जनप्रगतिशील मञ्च बेल्जियमको १३औं अधिवेशन सम्पन्न

Share:

इन्दिरा चाम्लिंग, बेल्जियम / नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको १३औं अधिवेशन २०२५ जुन १ तारिखका दिन बेल्जियमको लुभेन शहरमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनले संगठनको विधान संशोधन गर्दै कार्यसमिति विस्तार गर्ने निर्णय गरेको छ र त्यसअनुसार तुमु राष्ट्रीय मुक्ति मोर्र्चा युरोप इन्चार्ज समेत रहेका मनिष गुरुङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध चयन गरिएको निर्वाचन समितिले जानकारी दिएको छ।

बन्द सत्रबाट विधानको अनुच्छेद ४ (७) १ मा संशोधन प्रस्ताव पारित गर्दै कार्यसमितिको संख्या १९ बाट २१ मा पुर्‍याइएको हो। सोही अनुसार, कार्यसमितिमा तीन उपाध्यक्षहरू, तीन सचिवहरू, एक महासचिव, प्रवक्ता, कोषाध्यक्ष र सदस्यहरू गरी नयाँ संरचना तयार गरिएको छ।

अध्यक्ष पदमा मनिष गुरुङ चयन भएका छन् भने भिम सुवेदी, साबित्रा भारती र रुपेश श्रेष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। शुसिला खतिवडा महासचिवको रूपमा चयन भएकी छन्। सचिव पदमा दिलिप कुमार हमाल, रमेश दाहाल र तेज अर्याल रहेका छन्। प्रवक्ताको रूपमा दिल निशानी मगर जिम्मेवारीमा आउनुभएको छ भने कोषाध्यक्ष पदमा जीत कुमारी कुँवर निर्वाचित भएकी छन्।

सदस्यहरूमा सीता दाहाल, लक्ष्मी सुवेदी, नारायण भुर्तेल, चित्र कुमारी खतिवडा, विरेन्द्र लामा, हिमाल बुढा, विरजन बुढामगर र तारा बुढामगर चयन भएका छन्। अधिवेशनको निर्णयअनुसार बाँकी तीन सदस्य कार्यसमितिबाट मनोनयनमार्फत थप गरिने छन्

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास ब्रसेल्स, बेल्जियमकी महामहिम राजदूत श्री सेवा लम्सालको गरिमामय उपस्थिति रहेको थियो।
उहाँले आफ्नो मन्तव्यमा बेल्जियममा रहेका नेपालीहरूको संगठनात्मक एकता र सामाजिक जागरणमा नेपाली जनप्रगतिशील मञ्चको भूमिका उच्च रहेको बताउँदै नयाँ नेतृत्वलाई शुभकामना दिनुभयो।
“प्रवासी भूमिमा नेपाली चिरा भएर होइन, चिना भएर चम्कनुपर्छ। एकताको बलले मात्र पहिचान मजबुत हुन्छ,” उहाँले भन्नुभयो।

विशेष अतिथिका रूपमा उपस्थित नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य श्री सुरेन्द्र भुसालले अधिवेशनमा शुभकामना व्यक्त गर्दै संगठनको वैचारिक स्पष्टता र सामाजिक योगदानको प्रशंसा गर्नुभयो। जनचेतनाको प्रवाहलाई निरन्तरता दिने यो मञ्चले युरोपभर प्रगतिशील आन्दोलनको गतिशील धरोहर बन्नेछ,” उहाँले भने।

पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संयोजक श्री उदयराज गातमले शुभकामना मन्तव्यमा नयाँ नेतृत्वप्रति विश्वास प्रकट गर्दै संगठनात्मक अनुशासन र समर्पणलाई बलियो बनाउने प्रतिबद्धता प्रकट गर्नुभयो।

उहाँले भन्नुभयो, “नेतृत्व पाउनु मात्रै पर्याप्त हुँदैन, जिम्मेवारी पुरा गर्नु नै वास्तविक नेतृत्व हो। यो नेतृत्वले त्यो चुनौती पूरा गर्नेछ भन्ने विश्वास छ।” निर्वाचन समितिका संयोजक कृष्ण तिवारी, सदस्य लोक प्रसाद दाहाल र अर्जुन अधिकारीले नयाँ कार्यसमितिको औपचारिक घोषणा गरेका थिए। अधिबेशनमा डेनमार्कबाट उदयराज गौतम , अष्ट्रीयबाट युरोप महासचिब धर्म खतिवडा , स्पेनबाट युरोप उपाध्यक्ष गंगा भुषाल लगायत उपस्थित थिए ।

अधिवेशनको समापन समारोहमा सांस्कृतिक प्रस्तुति र शुभकामना मन्तव्यहरू प्रस्तुत गरिएका थिए। नवगठित कार्यसमितिले संगठनात्मक सुदृढीकरण, सामाजिक न्यायको प्रवर्द्धन र प्रवासी नेपालीको हकहितका लागि अझ सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।

Share:

सम्बन्धित समाचारहरू