माल्टानेपाल अनलाइन सम्बाददाता
एनआरएनए माल्टाले मे यहि मे२६ तारिख देखि सुरु गरिएको सदस्यता दर्ता स्थगित गरेको छ।
अनधिकृत व्यक्तिबाट सदस्यता दुरुपयोग भएकोले एनआरएन माल्टाद्वारा आज एक विज्ञप्ति जारी गर्दै प्राविधिक तथा संगठनात्मक असमझदारीका कारण दर्ता प्रक्रिया रोकिएको बताएको छ।
केन्द्रको बिबादलाई बेवास्ता गर्दै सदस्यता बितरण प्रणाली संस्थाको सम्पत्ति रहेकाले सोहि अनुसार एनसीसीको सदस्यता बितरण सुरु गरिएता पनि असमझदारीका कारण तत्कालका लागि स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ ।
एनसीसीले माल्टा र गोजोबासी नेपालीहरूलाई एकजुट बनाउने प्रयास गरिरहेको र केन्द्रीय तहको विवादले एनसीसी फुट्न नदिई एकताबद्ध भएर अगाडि बढ्ने सोच रहेको स्पष्ट पारेको छ। यस क्रममा विभिन्न बाधा अड्चनहरू सिर्जना गर्ने प्रयास भइरहेकोले दर्ता प्रक्रिया रोक्नुपरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी तपाईंहरूको साथ, समझदारी र सहयोगको अपेक्षा राख्दछौं। एनआरएनए एनसीसी माल्टाले छिट्टै नै एक समाधान र सहकार्यको प्रक्रियामार्फत पुनः दर्ता प्रक्रियामा संशोधन गरी, एक स्पष्ट र ठोस निर्णयसहित माल्टा तथा गोजोमा बसोबास गर्ने नेपाली डायस्पोरालाई एकताबद्ध र एकजुट बनाउने हेतुले पुनः दर्ता प्रक्रिया ल्याउने जानकारी दिइएको छ ।
तर, दर्ता प्रक्रिया स्थगित हुनुमा केन्द्रले एमआईएस प्रणालीको अधिकार दुरुपयोग गरेको एनसीसी माल्टाका अध्यक्ष रेमलाल खनालले बताए।
उनका अनुसार एमआईएस प्रणालीमा सदस्य दर्ताको लागि अनुमोदन गर्ने अधिकार सहितको ‘क्रेडेन्सियल’ एनसीसी माल्टाका अध्यक्ष रेमलाल खनाल, कोषाध्यक्ष निरज श्रेष्ठ र उपाध्यक्ष सत्यनारायण झा गरी तीन जनासँग थियो। भने एमआईएस प्रक्रियाको सुपरभिजन गर्ने टोलीमा उपाध्यक्ष प्रकाश थापा र वरिष्ठ उपाध्यक्ष मधु गुरुङ थिए। सुपरभिजन टोलीले अनधिकृत रूपमा सदस्यता स्वीकृत भइरहेको पत्ता लगाएपछि तत्काल रोक्नका लागि पहल भएको अध्यक्ष खनाले बताए । कार्यसमितिकै अर्का एक व्यक्तिले अध्यक्ष लगायत आधिकारिक टिम कसैलाई पनि जानकारी नदिई अनधिकृत रूपमा एमआईएस प्रणालीमा प्रवेश गरी धमाधम सदस्य स्वीकृत गर्नु केन्द्रीय नेतृत्वको षडयन्त्रमा अनधिकृत व्यक्ति मार्फत एनसिसिको स्वायत्तता हरण गरिनु दुखद रहेको एनआरएन माल्टाले जनाएको छ । एनसीसी माल्टाले सम्पूर्ण नेपाली समुदायको सहयोग, समझदारी र धैर्यप्रति आभार व्यक्त गर्दै छिट्टै नै समाधान र सहकार्यको प्रक्रियामार्फत संशोधित दर्ता प्रक्रिया ल्याउने प्रतिबद्धता जनाएको छ।
यस घटनापछि एनआरएनए एनसीसी माल्टा वर्तमान एमआईएस प्रणालीको प्रक्रिया रोकिएको र भविष्यमा एनसीसीले आफ्नै पोर्टल बनाएर दर्ता प्रक्रिया अगाडि बढाउन सक्ने विषयमा पनि छलफल भइरहेको जनाइएको छ । यद्यपि विज्ञप्तिमा भने संशोधित र पारदर्शी प्रक्रियासहित पुनः अगाडि बढ्ने उल्लेख छ ।