माल्टामा राहदानी नवीकरणको सेवा पाएपछि खुसी भए नेपालीहरु (फोटो फिचर सहित)

Share:

धनराज विक (अविरल) / डिसेम्बर १५, माल्टा

माल्टामा राहदानी नवीकरण लगायत अन्य कन्सुलर सेवा पाएपछि रोजगारीको सिलसिलामा माल्टामा रहेका नेपालीहरु खुसी भएका छन् । एनआरएनए माल्टाको सहकार्यमा राहदानी विभाग नेपाल र स्पेनमा रहेको नेपाली राजदूतावासको समन्वयमा माल्टामा घुम्ती कन्सुलर सेवा शिविर मार्फत राहदानी नवीकरण लगायतका अन्य कन्सुलर सेवा पाएपछि प्रवासी नेपालीहरु खुसी भएका हुन् ।

माल्टामा नेपाली राजदूतावास नभएको र स्पेनमा रहेको नेपाली राजदूतावासले नै माल्टालाई हेर्ने भएकाले एनआरएनए माल्टाले निरन्तर रुपमा माल्टामा घुम्ती कन्सुलर सेवा शिविर संचालन गर्नका लागि गरेको पहलले सजिलै सेवा पाउँदा सेवाग्राही नेपालीहरुले धेरै खुसी भएको बताउँदै एनआरएनए माल्टालाई धन्यवाद् दिएका छन् । समाचार संकलनका लागि आइतबार घुम्ती कन्सुलर सेवा शिविरमा पुगेका पत्रकारसंग कुरागर्दै सेवाग्राहीहरुले आफूहरु निकै खुसी भएको बताएका छन् ।

शनिबार देखि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको आफ्नै कार्यालयमा सुरु भएको घुम्ती कन्सुलर सेवा शिविरको पहिलो दिन १ सय ७० जनाले सेवा लिएका थिए भने दोस्रोदिन १ सय ८० जनाले सेवा लिएको एनआरएनए माल्टाका सचिव भुवन झाले जानकारी दिएका छन् । एनआरएनए माल्टाले पहल गरेर घुम्ती कन्सुलर सेवा शिविर माल्टामा नल्याएको भए हामीले स्पेन जानु प्रथ्र्यो । स्पेन आउँदाजाँदा, खान बस्न र अन्य आवश्यक कागजपत्र तयारी गर्दा नेपाली १ लाखभन्दा बढी खर्च हुन्थ्यो । यता कामबाट बिदा लिएर जाँदाखेरिको कमाइ पनि जोड्ने हो भने अझधेरै खर्च बढ्छ । तर माल्टामा बसेर नियमित काम गरेरै सेवालिन पाउँदा धेरै सहज भएको भन्दै निकै खुसी लागेको अनुभव उनीहरुले सुनाएका छन् ।

नेपाल पोखारा घर भएकी र हाल माल्टामा ६ वर्षदेखि बस्दै आएकी पशुपती गुरुङ पनि निकै खुसी देखिएकी थिइन् । सानो छोरीलाई काखमा राखेर पासपोर्ट नवीकरण, बच्चाको जन्म प्रमाणित र नेपालमा रहेको छोरालाई माल्टा ल्याउनको लागि आवश्यक कागजपत्र प्रमाणितको सेवालिन आएकी गुरुङले एनआरएनए माल्टालाई धन्यवाद् दिएकी छन् । उनले भनिन्,“ यदिमैले यो सबै सेवालिन स्पेन जानु परेको भए करिब १ हजार युरोभन्दा बढीसम्म खर्चहुने मेरो अनुमान छ । म एकलै गएर हुने थिएन । श्रीमान म र मेरोछोरी संगैजाँदा यातायात, काम सकुन्जेल होटेलमा बस्न खान र अन्य आवश्यक खर्चको व्यवस्था गरेर जानु प्रथ्र्यो । तर माल्टामै यो सबै सेवा पाउँदा निकै खुसी लागेको छ । पैसाको पनि बचत भएको छ ।”

गुल्मी घर भएका शंकर भण्डारीले पनि राहदानी नवीकरणको सेवालिन पाउँदा खुसी लागेको बताउँदै एनआरएनए माल्टाको राम्रो कामको प्रशंसा गरेका छन् । एनआरएनएको नेतृत्वले विगत देखि अहिलेसम्म गरेका असल कामको भण्डारीले तारीफ गर्दै धन्यवाद् समेत दिएका छन् । त्यसैगरी दाङका दोर्णप्रसाद जैसी र मोरङका लक्ष्मण राईले पनि राहदानी नवीकरणको सेवालिन पाउँदा आफूलाई खुसी लागेको बताए ।

घुम्ती कन्सुलर सेवा शिविरको नेतृत्व गर्दै माल्टा आएका नेपाली राजदूतावास म्याड्रिडका कार्यवाहक राजदूत यज्ञराज पौड्यालले सेवा प्रवाह राम्रोसंग भइरहेको बताए । नेपाल सरकारले प्रमाणित गर्नुपर्ने कागजपत्र र राहदानी नवीकरणको सेवा दिइरहेको बताउँदै एनआरएनए माल्टाको राम्रो व्यवस्थापन र सहयोगले धेरै सहज भएको पौड्याल बताउँछन् । टोलीमा कार्यबाहक राजदूत लगायत राहदानी विभागबाट बिदुर खतिवडा, नेपाली राजदूतावासबाट बिपिन चन्द र अनुप ताम्राकारले सेवा दिइरहेका छन् ।

घुम्ती कन्सुलर सेवा शिविरबाट राहदानी नवीकरण लगायत अन्य कन्सुलर सेवा लिनको लागि ७ सय ११ जनाले अनलाइन फाराम भरेको र फराम भर्न छुटेकाहरुको यतिबेला पनि नाम संकलन गर्ने काम भइरहेकोले सेवालिनेहरुको संख्या बढ्न सक्ने एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले जानकारी दिएका छन् । दुईवटा बुथ बनाएर सेवा दिइरहेका छौ । पहिलो बूथबाट राहदानी विभाग नेपालबाट बिदुर खतिवडा र दोस्रो बूथ नेपाली राजदूतावासबाट अनुप ताम्रकारले सेवा दिइरहेको खनालले बताए ।

राहदानीको म्याद सकिएका दस प्रतिसतको संख्यामा रहेकाहरुले पनि सेवा लिएको भन्दै यतिबेला सिस्टम अनुसार काम भएकोले धेरै सजिलो भएको छ । संस्थाका सबै पदाधिकारीको काम र जिम्मेवारीको बाँडफाँड गरिएकोले पनि सजिलै सेवा प्रवाह भइरहेको उनले बताए । माल्टाका अवैतानिक बाणिज्यदूत डाक्टर जनाथन अबेलाले पहिलो दिन अनुगमन गरेर एनआरएनए माल्टाले माल्टामा रहेका नेपालीको लागि राम्रो कामगर्दै आएको बताएका थिए ।

घुम्ती कन्सुलर सेवा शिविर सफलपार्न माल्टामा रहेका सबै सामाजिक संघसंस्थाले राम्रो सहयोग गरेकोले सजिलो भएको छ । एनआरएनए माल्टाका निर्वतमान अध्यक्ष भुवन अर्याल सहित सहयोग गर्ने सबैलाई उनले धन्यवाद् दिदै दैनिक १५ देखि २० जना स्वयम् सेवकको व्यवस्था गरिएको उनले बताए । सभ्य र शान्तपूर्ण तरिकाले सेवादिने काम भइरहेको घुम्ती कन्सुलर सेवा शिविरका संयोजक दामोदर लामिछाने र उपसंयोजक दिपेश गुरुङले जानकारी दिएका छन् । शान्तीपूर्वक सेवा संचालनमा सहयोग गर्न माल्टा प्रहरीले सुरक्षाको समेत व्यवस्था गरेको छ ।

एनआरएनए माल्टाका सल्लाहकार रोशन गिरी,सबिता भण्डारी,काव्य कटुवाल, वरिष्ठ उपाध्यक्ष मुधु गुरुङ, उपाध्यक्ष सवनम गुरुङ, उपाध्यक्ष सत्यनाराण झा, उपाध्यक्ष प्रेम लिम्बु, सचिव भुवन झा, सदस्य हरीप्रसाद पौडयाल सेवाग्राहीको सेवामा सक्रिय भएर खटिएका थिए । वरिष्ठ उपाध्यक्ष मुधु गुरुङले आफैले पनि राहदानी नवीकरणको सेवा लिएको बताए । विगतका दिनको सिकाइले पनि यतिबेला व्यवस्थापनको राम्रो तयारी भएकोले सेवाग्राही पनि खुसी भएको गुरुङ बताउँछन् । डिसेम्बर १४ तारीख देखि सुरु भएको राहदानी नवीकरण लगायत अन्य कन्सुलर सेवाको काम डिसेम्बर १८ तारीख सम्म संचालन हुने एनआरएनए माल्टाका उपाध्यक्ष सत्य नारायण झाले बताए । घुम्ती कन्सुलर सेवा शिविर सफल पार्न सहयोग गर्ने सबैलाई झाले धन्यवाद् दिएका छन् ।

घुम्ती कन्सुलर सेवा शिविरमा एनआरएनए माल्टाका निर्वतमान अध्यक्ष भुवन अर्यालले नेपाल सरकार, राहदानी विभाग, नेपाली राजदूतावास म्याड्रिड र एनआरएनए माल्टा लगायत सहयोग गर्ने सबैलाई धन्यवाद् दिएका छन् । जनसम्पर्क समिति माल्टाका सभापती एवम् एनआरएनए माल्टाका सल्लाहकार हरी बिसी, तमु समाज माल्टाका अध्यक्ष आकाश गुरुङ, तामाङ समाज माल्टाका सुनिल तामाङ, झापाली समाज माल्टाका सचिव ऋषि काफ्ले,एनएमएफसी क्लवका अध्यक्ष राजेन्द्र बिष्ट लगायतले ल्यापटप, फोटोकपी र प्रिन्ट मेसिनको व्यवस्था गरी निशुल्क रुपमा सेवा दिई रहेका छन् ।

Share:

सम्बन्धित समाचारहरू