माल्टामा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न (फोटो फिचर सहित )

Share:

धनराज विक (अविरल) / डिसेम्बर २३ ( माल्टा )

पूर्वाञ्चल प्रवासी समाज माल्टाको आयोजनामा अन्तर माल्टा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । आइतबार माल्टामा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको पूर्वाञ्चल प्रवासी समाज माल्टाका अध्यक्ष अम्बर बिष्टले जानकारी दिएका छन् । पुरुष तर्फको खेलमा एनएनएमभिए माल्टा प्रथम भएको छ भने पूर्वाञ्चल (ए) टिम दोस्रो हुन सफल भएको छ । महिला भलिबलतर्फ मगर समाज माल्टाले प्रथम स्थान हासिल गरेको छ भने पूर्वाञ्चल प्रवासी समाज माल्टा दोस्रो भएको अध्यक्ष बिष्टले बताए ।

खेलमा उत्कृष्ट खेल प्रर्दशन गरी एनएनएमभिए माल्टाका योन्जन गुरुङले उत्कृष्ट खेलाडीको उपाधी जितेका थिए भने पूर्वाञ्चल प्रवासी समाज माल्टाका अर्जुन केसीले वेष्ट पुरस्कार पाएका थिए । त्यसैगरी वेस्ट सटरको पुरस्कार एनएनएमभिए माल्टाका समुन्द्र आलेले प्राप्त गरेका छन् भने वेष्ट स्पिकरको पुरस्कार पूर्वाञ्चल प्रवासी समाज माल्टाका अर्जुन थापा मगरले पाएको पूर्वाञ्चल प्रवासी समाज माल्टाका सह–सचिव कर्ण कुमार श्रेष्ठले बताए ।

महिला खेलाडीको तर्फबाट उत्कृष्ट खेलाडीको उपाधी भूमिका बुढामगरले पाएकी थिइन भने वेष्ट अनुशासित खेलाडीको पुरस्कार आँधीखोला टिमले पाएको भलिबल प्रतियोगिताका महिला क्याप्टन प्रियंका श्रेष्ठले बताइन् । प्रतियोगिताका विजेता उपविजेता र अन्य विभिन्न विधामा छनौट भएका खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । खेलमा खेलाडी र दर्शकको उत्साहजनक सहभागिता रहेको बताउँदै खेल क्षेत्रमा लाग्न थप हौसला मिलेको उनी बताउँछन् ।

खेलमा माल्टामा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुको उपस्थिति रहेको आयोजकले बताएको छ । प्रतियोगितामा पुरुष खेलाडीबाट शुल्क लिएर खेलका टिमहरु दर्ता गरिएको थियो भने महिला खेलाडीहरुको टिम निशुलक रुपमा दर्ता गरिएको थियो । महिलातर्फ २ वटा टिम दर्ता भएका थिए भने पुरुषतर्फ ७ वटा टिम दर्ता भएको भलिबल प्रतियोगिताका संयोजक रामप्रसाद राईले बताएका छन् । स्वस्थ जीवन र खेल क्षेत्रको विकासका लागि भलिबल प्रतियोगिता आयोजना गरिएको र आगामी दिनमा पनि खेल प्रतियोगीता आयोजना गर्ने राईले बताए ।

Share:

सम्बन्धित समाचारहरू