माल्टा नेपाल अनलाइन
माल्टा / गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाका सल्लाकार एवम् भुतपूर्व अध्यक्ष राजु अर्याल (बाबू) ले दीर्घकालीन रुपमा आपतकालीन राहत कोष स्थापनाको लागि माल्टामा एक व्यक्ति एक युरो उठाउने अभियान संचालन गर्नुपर्ने बताएका छन् । माल्टामा सडक दुर्घटनामा परी निधन भएकी बर्दिबास नगरपालिका ३ महोत्तरीकी २४ वर्षिय गौरी बराललाई अस्पतालको शव गृहमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका अर्यालले वार्षिक रुपमा एक नेपाली एक युरो उठाउने अभियान संचालन गर्नुपर्ने बताएका हुन् । एनआरएनए माल्टाको अगुवाइमा एउटा एप्स निमार्ण गरी दीर्घकालीन राहत कोष स्थापना गर्न सकिने उनले बताए ।
माल्टाको कानूनी प्रक्रिया पूरा गरेर एनआरएनए माल्टा आधिकारिक रुपमा दर्ता भएको संस्था भएकोले आपतकालीन राहत कोष सजिलै संचालन गर्न सकिन्छ । माल्टामा अन्य संस्था दर्ता नभएकोले भोली आउने कानूनी समस्याबाट जोगिनको लागि पनि दर्ता भएकै आधिकारिक सामाजिक संस्था एनआरएएनएको अगुवाइमा यो अभियान संचालन गर्न सजिलो हुने अर्याल बताउँछन् । दीर्घकालीन राहत कोष अभियान संचालन गर्नका लागि एनआरएनएको पहलमा माल्टामा रहेका विभन्न सामाजिक संस्था, पत्रकार, समाजसेवी बुद्धिजिवी, व्यापारी, विद्यार्थी, सामाजिक अगुवा र सामाजिक संजालमा सक्रिय रहेका व्यक्तिहरुसँग साझा छलफल गरी आपतकालीन राहत कोष संचालनको कार्यबिधि बनाएर काम गर्न सकिने अर्यालले बताए ।
माल्टामा ८ हजार भन्दा बढी नेपाली भएकोले एक वर्षमा सजिलै ८ हजार भन्दा बढी युरो जम्मा गर्न सकिन्छ । जुन रकम रोजगारीको सिलसिलामा माल्टामा आएका नेपालीहरुको आपतकालीन अवस्थामा प्रयोगमा ल्याउन सकिन्छ । एक व्यक्ति एक युरो अभियानले गर्दा सजिलै हजारौं रकम राहत कोषमा जम्मा गर्न सकिन्छ । मलाई विश्वास छ वर्षमा प्रतिव्यक्ति एक युरो सबै नेपालीले दिनु हुन्छ । जसका लागि राहत कोषको महत्वको बारेमा हामीले बुझाउन सक्नु पर्छ ।
समाजसेवी अर्यालले भने, “एक्कासी माल्टामा कसैलाई केही आपतकालीन समस्या परेमा तत्काल पैसाको व्यवस्थापन गर्न कठिनाई हुने गरेको छ । पैसा संकलनको लागि सामाजिक संस्थाहरुले अभियान संचालन गरी सहयोग गर्न खोजेपनि आवश्यक परेको बेला तत्काल सजिलै पैसा उपलब्ध नहुने भएकोले दीर्घकालीन राहत कोषको स्थापना आवश्यक देखिन्छ ।” विदेशमा रहेका हामी नेपालीहरुलाई कतिबेला कस्तो परिस्थिति आउँछ केही थाह हुँदैन । हामीले प्रतिव्यक्ति उठाउने एक युरो आफ्नै लागि हो भन्ने सम्झेर दीर्घकालीन राहत कोषमा जम्मा गर्दा आपतकालीन अवस्थामा सजिलै समस्याको समाधान गर्न सकिन्छ ।
गैर आवासीय नेपाली संघको केन्द्रिय सदस्य समेत भैसकेका अर्यालले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको सफल अध्यक्षको जिम्मेवारी सम्हाली सकेका छन् । नमस्ते नेपाल मिनीमार्केट माल्टाका संचालक, अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका उपाध्यक्ष एवम् प्रवासी नेपाली मञ्च माल्टाको अध्यक्ष समेत रहेका अर्यालले प्रवासी नेपालीले भोगेका समस्यामा चासो दिदै आएका छन् ।