आरके शर्मालाई ज्यान मार्ने धम्की, युवासंघ लगाएर कार्यालयमै आक्रमण प्रहरीमा उजुरी पुग्यो, संघमा त्रासको अवस्था

Share:

 

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद चर्किँदै जाँदा बद्री केसी पक्ष आक्रमणमा उत्रिएको छ । अध्यक्ष बद्री केसीले एमाले र सो पार्टी निकट युवासंघ प्रयोग गरेको पाइएको हो । मंगलबार संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पुगेका अध्यक्ष आरके शर्मा पक्षका अभियन्तालाई बद्री केसीको इशारामा आक्रमण भएको हो ।

अध्यक्ष शर्मासमेतलाई हातपातको प्रयास भएको छ भने एमालेका कार्यकर्ताले केहीबेर मोबाइल समेत नियन्त्रणमा लिएका थिए । यस्तै एनआरएनए अभियन्तासमेत रहेका बेल्जियममा बस्दै आएका ओम शर्मालाई एमालेका कार्यकर्ताले आक्रमण गर्दा दाँतमा चोट लागेको छ ।
बद्री केसीले कार्यालयमा युवासंघसहित एमालेका कार्यकर्ता भेला गरिरहेको बेलामा आरके शर्मासहितको टोली पुगेपछि यसबारे प्रश्न गर्दा एकाएक आक्रमण भएको हो । एमालेका कार्यकर्ता आक्रमणपछि भागेका थिए भने सो क्रममा नेता महेश बस्नेतको समेत उपस्थिति रहेको थियो ।
घटनापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शर्माले एमालेका कार्यकर्ता देखेपछि आफूहरुले कार्यक्रम राखिएको बारे प्रश्न गर्दा आक्रमण भएको बताए । ‘भिडियो खिच्न लाग्दा मोबाइल खोसियो । यो पार्टीको कार्यालय पनि होइन । बद्रीले गरेका धम्कीपूर्ण कार्य खेदजनक छन्’, उनले भने, ‘यहाँले गैरआवासीय नेपाली अभियानलाई गलत ढंगले प्रयोग गर्नुभएको छ । यो निन्दनीय छ ।’

शर्माले आफू कार्यालय जाँदा बद्री केसीसहित १०० जनाजति संघको हलमा देखेको बताए । ‘मलाई एकसाथ पराकपुरुक गरेर बाहिर निकाल्नु भयो । त्यसपछि महासचिवलगायताई हातपात प्रयास भयो । बेल्जियम निवासी पत्रकार ओम शर्मालाई मुक्का हान्ने काम भयो’, उनले भने । गैरआवासीय नेपाली संघको कार्यालयमा कुनै दलको भ्रातृ संगठनको आन्तरिक कार्यक्रम नपाइने भन्दै केसीको यो हर्कको विरोध गरे । उनले आफूलाई विभिन्न माध्यमबाट ज्यान मार्ने धम्की समेत आइरहेको बताए । ‘उहाँले जहिले पनि पेलेरै जाने तथा मलाई र हाम्रा पदाधिकारीहरुलाई ज्यानमार्नेसम्मका धम्की इन्डाइरेक्टरुपमा आएका थिए । मैले आजसम्म बोलेको थिइनँ । मलाई मार्नुहुन्छ भने त केही पनि छैन । तर, यो एनअराएनएमा ज्याजतीविरुद्धको आन्दोलन मेरो अन्तिम सास रहेसम्म छाडिदनँ ।’

मंगलबारको आक्रमणपछि अराजकता पुष्टि भएको भन्दै उनले नेपाल सरकार र सुरक्षा निकायलाई आफू र आफू मातहतका पदाधिकारीको सुरक्षाको प्रत्याभूति गर्न अनुरोध गरे । ‘धम्की र धाँधली गरेरै नेतृत्वमा जानुपर्ने बद्री केसीको रहस्य खुल्ने जाने भन्दै उनले आफूहरु धाँधलीपूर्ण ढंगले भएको चुनावको विरोधमा रहेको बताए ।
उनले एनआरएनए कार्यालय बद्री केसीको पेवा नभएको भन्दै उनको दादागिरी नचल्ने बताए । ‘सामान्य पार्षदले पनि १०–१० डलर हालेर बनाएको बिल्डिङमा केसीको कुनै अधिकार छैन’, उनले भने, ‘कुनै पार्टीको युथफोर्सको मिटिङ यहाँ किन भयो ? आम गैरआवासीय नेपालीले जवाफ माग्नेछन् ।’ उनले यो १९ औँ सताब्दीको लडाइ नभएको भन्दै बद्री केसीको धम्कीले एनआरएनए अभियानमा थप चिन्ता थपिएको बताए ।

यसैगरी उपाध्यक्ष गंगाधर गौतमले युवासंघाको कार्यक्रम एनआरएनएको कार्यालयमा गरिनु निन्दनीय रहेको बताए । उनले केसीले निलज्ज तरिकाले संघको दुरुपयोग गरेको भन्दै आक्रोश समेत पोखे । ‘बद्री केसीलाई कानुनी कठघारामा उभ्याउनु पर्छ । नेपाल लोकतान्त्रिक राज्य हो, यो रसिया होइन ?’, उनले भने, ‘ एनआरएनए कब्जा गर्न युथफोर्सको प्रयोग भएको छ । यो निन्दनीय छ ।’
यस्तै कुटपिटमा परेका शर्माले आफू भित्र छिर्दा महेश बस्नेतले युथफोर्सले कसैलाई छाड्दैन भन्दै भाषण गरिरहेको सुनेको बताए । त्यसपछि आफूले भिडियो खिच्दा एकाएक आक्रमण भएको उनले बताए । आक्रमणपछि महेश बस्नेतलगायत युवा संघका कार्यकर्ता बाहिरिएका थिए । बद्रीले आफूलाई शुभकामना दिन कार्यक्रम भएको होहल्ला गर्दा घटना भएको बताएपनि थप केही बोल्न चाहेनन् ।
यसैबीच शर्माले प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका छन् । यस्तै आरके शर्मासहित उपाध्यक्ष गंगाधर गौतम, महासचिव बुद्धि सुवेदी र कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले पनि कार्यालयमा भएको कुटपिटको सम्बन्धमा छानबिन र सीसीटीभी फुटेज सुरक्षित गर्न माग गरेका छन् । उनीहरुले सहज वातावरण नभएसम्म एनआरएनए कार्यालय बन्द गर्न पनि माग गरेका छन् ।
आरके शर्मालाई अवरोध गर्ने मनसायका साथ बद्री केसीले कर्मचारीहरुलाई घरबाटै काममा लगाएका छन् । यद्यपि आरके शर्मा भने नियमित कार्यालय गइरहेका छन् भने भित्र चाबी लगाएपनि बाहिर रहेको सोफाबाटै कार्यसम्पादन गर्दै आएका छन् । उनीले आफूले एनआरएनएको आधिकारिक अध्यक्ष बताउँदै आएका छन् ।

महेश श्रेष्ठको विरोध

यसैगरी अध्यक्षका प्रत्यासी महेश श्रेष्ठले गैरआवाशिय नेपाली संघको मुख्यालयभित्र पत्रकार ओम शर्मा माथि भएको सांघातिक आक्रमण अत्यन्तै खेदजनक रहेको बताएका छन् । उनले अहिले संघमा ठूलो विश्वासको संकट रहेको बताउँदै भनेका छन्, ‘संघको दशौं र एघारौं महाधिवेशनमा भए गरिएका गतिविधिहरुले गिराएको एनआरएनएको साख आजको घटनाले झन गिराएकोछ । डर, धाकधम्पी, बल प्रयोगले कुनै पनि समस्याको समाधान कदापी गर्न सक्दैन ।’
उनले आपसी छलफल र संवादका माध्यमबाट समस्या समाधानका लागि अगाडि बढ्न सबैसँग आग्रह गरेका छन् । सहमति, सहकार्य र एकताको आवश्यकता अहिलेको सन्दर्भमा झन वढेको उनको भनाइ छ ।

Share:

सम्बन्धित समाचारहरू