नेपाली संस्कृति झल्काउँदै मगर समाज माल्टाले मनायो ४३ औं मगर एकता दिवस

Share:

माल्टा नेपाल अनलाइन / नेपाली संस्कृति झल्काउँदै मगर समाज माल्टाले ४३ औं मगर एकता दिवस भब्य रुपमा मनाएको छ । मार्च १ तारिख फागुन १७ गते शनिबारका दिन माल्टाको जिरा भन्ने ठाउँमा भेटघाट तथा शुभकामना आदान–प्रदान संगै विविध साँस्कृतिक कार्यक्रम आयोजना गरी मगर एकता दिवस मनाएको हो ।

देशलाई शिरमाथी राखेर मनमा एकता र सामाजिक सद्भावको भावना बोकेर मगर दिवस सफल पार्न आएका नेपालीहरु एकआपसमा रमाउँदै नेपाली मौलिक गीत संगितमा झुमीझुमी नाँचेका थिए । मौलिक संस्कृतिमा धेरै नै अगाडी रहेको मगर समाज माल्टाले व्यवस्थित रुपमा भब्य कार्यक्रम आयोजना गरी माल्टामा रहेका सबै नेपालीलाई एकै ठाउँमा प्रेमपूर्वक राख्न सफल भएको भन्दै मगर समुदायको एकता र मेलमिलापको कार्यक्रमका सहभागीले प्रशंसा गरेका थिए ।

दिवसमा सहभागी हुन आएका तामाङ समुदाय, गुरुङ समुदाय, मगर समुदाय, किरात राई समुदाय, रोल्पा समाज लगायतका विभिन्न समुदायहरुले आफ्नै रिती – रिवाज र संस्कृति झल्काउने पहिरन लगाएर आकर्षक प्रस्तुति प्रस्तुत गरेका थिए । कामबाट फर्केर कार्यक्रममा सहभागी भएका नेपालीले थकानलाई मेटाउने गरी गीतमा नाँच्दै भरपुर मनोरञ्जन लिएका थिए ।

कार्यक्रम हलभित्र प्रवेश गर्दा माल्टामा नभएर नेपालकै तामाङ समुदाय, गुरुङ समुदाय, मगर समुदाय, किरात राई समुदाय लगात अन्य समुदायको बस्तीमा पुगेझैं महसुस गर्न सकिन्थ्यो । मगर एकता दिवसमा सहभागी भएका प्रवासी नेपालीहरुको उल्लेखनीय सहभागिताले नेपालीहरुको साझा दिवसको झल्को दिइरहेको थियो । रोजगारीको सिलसिलामा माल्टामा रहेका विभिन्न जातजाती र समुदायले आफ्नै मौलिक पहिरन लगाएर मगर दिवसमा सहभागी भइ एकता र मेलमलिापको राम्रो सन्देश दिएको देख्न सकिन्थ्यो ।

कार्यक्रम स्थलभित्र राखिएको नेपालको राष्ट्रिय झण्डाले नेपालीको मात्र नभई कार्यक्रम हेर्न आएका विदेशी नागरिकको पनि ध्यान केन्दि«त गरी रहेको थियो । माल्टामा नेपालीहरुको एकता र देशप्रेमको भावनालाई थप मजबुत बनाउन मगर दिवसले भूमिका खेलेको सहभागीहरुले बताए ।

गुल्मी आँपचौर ७ धुमी घरभई हाल रुपेन्देही जिल्ला सैनामैना नगरपालिका रानीबागिया बस्ने ६६ वर्षिय शिवलाल अर्याल पनि मगर दिवस कार्यक्रममा सहभागी भएका थिए । युरोपको माल्टामा भ्रमणमा आएका भूतपुर्व वडा अध्यक्ष समेत रहेका अर्यालले कार्यक्रम निकै राम्रो र व्यवस्थित रुपमा संचालन भएको देख्दा आफूलाई खुसी लागेको बताए । विदेशको ठाउँमा कामगर्न भनेर आएका नेपालीहरुले देशलाई चिनाउने गरी भब्य कार्यक्रम आयोजना गर्नु महत्वपूर्ण काम भएको अर्यालले बताए । कार्यक्रममा आफूलाई विशिष्ट अतिथि बनाएर सम्मान गरेकोमा आयोजक मगर समाज माल्टालाई उनले धन्यवाद् दिए ।

नेपाली दौरा सुरुवाल, भातगाउँले टोपी र अल्लाको कोट लगाएर चिटिक्क परेर आएका इलामका रोशन साम्पाङले आफ्नो समूहको साकेला सिली नृत्य ल्याएर आएका थिए । चौरीको पुच्छर सहित प्रस्तुत गरिएको नृत्य सबैले रुचाएका थिए । विदेशमा पनि नेपाली संस्कृतिमा रमाउन पाउँदा आफूलाई खुसी लागेको साम्पाङले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले नेपालको संस्कृति, कला पहिचान के हो भनेर मगर समाज माल्टाले देखाएको छ । विदेशमा रहेर पनि नेपालको रिती – रिवाज, संस्कृति परम्परा जगाउने र त्यसको प्रवद्धन गर्ने काममा हामी नेपालीहरु लागी परेको खनालले बताए । आउँदै गरेको नेपाली नयाँ वर्षमा माल्टाको राजधानी भेलेटामा नेपाल डे मनाउने तयारी भइरहेको र नेपाल डे सफल पार्न सबैलाई सहयोग गर्न उनले आग्रह समेत गरेका छन् ।

कार्यक्रममा एनआरएनए माल्टाका वरिष्ठ उपाध्यक्ष मधु गुरुङले मगर समाज माल्टाले धेरै राम्रो कार्यक्रम आयोजना गरी दिवस मनाएको बताए । विदेशमा पनि जनजातीहरुले नेपालको संस्कृति मार्फत देश चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै हामी सबै नेपालीहरु एक हौं भन्ने साझा भावना राखेर मिलेर अगाडी बढ्नु पर्नेमा उनले जोड दिए ।

एनआरएनए माल्टाका निवर्तमान अध्यक्ष भुवन अर्यालले मगर दिवस कार्यक्रमको सबैलाई शुभकामना दिदै प्रवासी सबै नेपालीहरु माल्टामा मिलेर बसेको बताए । हामीहरुले दिवस मात्र मनाएका छनौं नेपालको कला, संस्कति मार्फत देश चिनाउने काम गरी रहेको अर्यालले बताए ।

एनआरएनए माल्टाका सल्लाहकार एवम् जनसम्पर्क समिति माल्टाका सभापती हरी बिसीले मगर समुदाय लयायत अन्य जनजाती समुदायले माल्टामा नेपालको संस्कृति झल्काउने काम गरेको भन्दै प्रशंसा गरेका थिए । नेपालमा पनि परिवर्तनका लागि जनजातीहरुले त्याग, तपस्या र बलिदान दिएकाले उनीहरुको बलिदानको राज्यले उच्च मूल्यांकन गर्नु पर्नेमा उनले जोड दिएका थिए ।

हामीहरु जुनसुकै समुदायबाट भएपनि नेपाली भएर बस्नुपर्छ र हामीहरु सबैमा नेपाली हौं भन्ने साझा भावना हुनुपर्छ । मगर समाजले आयोजना गर्ने कार्यक्रममा विगतका दिनमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्न तयार रहेको .भन्दै देश विदेशमा रहेका सबै नेपालीलाई उनले शुभकामना दिएका थिए । एनआरएनए माल्टाले माल्टामा हुने विभिन्न कार्यक्रमको अभिभावकीय भूमिका खेल्दै सहयोग गदै आएको बिसीले बताए । कार्यक्रममा तामाङ समाज माल्टाका अध्यक्ष सुलिन डोङ र अन्तराष्ट्रिय झापाली समाजकी महिला उपाध्यक्ष शर्मिला बस्नेतले मगर एकता दिवसको अवसरमा सबैलाई शुभकामना दिदै कार्यक्रम धेरै राम्रो भएको मन्तव्य राखेका थिए ।

कार्यक्रम सफल पार्न र साँस्कृतिक कार्यक्रममा कला प्रस्तुत गर्नेहरुलाई सम्मान पत्रले सम्मान गरिएको मगर समाज माल्टाका अध्यक्ष सन्तु थापा मगरले बताए । समाचार लेखेर योगदान गरेको भन्दै पत्रकार धनराज अविरललाई पनि मगर मगर समाज माल्टाले सम्मान गरेको थियो । अध्यक्ष सन्तु थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव भरत पाईजा मगर र सदस्य भूमिका बुढा मगरले गरेका थिए । कार्यक्रम संयोजक लाल बहादुर थापा मगरले स्वागत मन्तव्य मार्फत सबैलाई स्वागत गरेका थिए ।

मगर एकता दिवसलाई सफल पार्न सहयोग गर्ने सबैलाई मगर समाज माल्टाका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार संयोजक रमन थापा मगरले धन्यवाद् दिएका छन् । सल्लाहकार सदस्य झलक मगर (खरमटारे) ले मगर समाज माल्टाले माल्टामा रहेका सबै नेपालीको सहयोगमा भब्य रुपमा उत्कृष्ट कार्यक्रम आयोजना गरी दिवस मनाउन सफल भएको भन्दै सहयोग गर्ने सबैलाई उनले धन्यवाद् दिए । कार्यक्रममा मगर समुदायका मौलिक खानाको परिकारले अतिथिहरुलाई स्वागत गरिएको थियो ।

 

 

 

Share:

सम्बन्धित समाचारहरू