माल्टा नेपाल अनलाइन संवाददाता / माल्टाको राजधानी भ्यालेटामा नेपाल डे अर्थात नयाँ वर्ष २०८२ मनाउँनका लागि आयोजना हुन लागेको कार्यक्रमले माल्टा र नेपालको सम्बन्ध थप मजबुत भएर जाने विश्वास गरिएको छ । भब्य रुपमा मनाउन लागिएको नेपाली पहिचान झल्काउने साँस्कृतिक कार्यक्रममा माल्टा सरकारका जिम्मेवार व्यक्तिहरुले सम्बोधन गर्ने भएकोले माल्टा र नेपाल दुई देश बीचको सम्बन्ध थप मजबुत भएर जाने विश्वास गरिएको हो ।
नेपालको पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा नेपालको राष्ट्रिय झन्डा फरफराउँदै नेपाली पहिचान झल्काउने पहिरनका साथ उल्लेखनीय रुपमा सहभागिता जनाउने गरी प्रवासी नेपालीहरु तयारीमा जुटेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले बताए ।
अध्यक्ष खनालले भने, “नेपाल डे कार्यक्रममा माल्टा सरकारका सांसदहरू, पर्यटन मन्त्रालयका सचिव, सगरमाथा आरोहण गरी सकेका माल्टिज नागरिक, माल्टिज माउन्टेनीयरिङ्ग एशोसिएसनका अध्यक्ष, अवैतनिक वाणिज्य दूत, नेपाल भ्रमण गरी सकेका माल्टिज नागरिकहरू, स्थानीय काउन्सिलका मेयर, मिस माल्टाका प्रतिनिधि, इमिग्रेशन सम्बन्धी कानुनी विज्ञहरू लगायत नेपालसँग सम्बन्धित विभिन्न क्षेत्रमा चासो राख्ने माल्टिज नागरिकहरू अतिथिको रुपमा रहने छन् र उहाँहरुले सम्बोधन गर्नेछन् ।”

यतिबेला माल्टाको राजधानीको बीचमा हुने कार्यक्रमलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । माल्टा सरकारका सबै मन्त्रालय रहेको राजधानी भ्यालेटामा अन्य देशबाट माल्टा भ्रमण गर्न आएका विदेशी नागरिकले समेत नेपाली पहिचान झल्काउने सास्कृतिक कार्यक्रमको अवलोकन गर्नेछन् । कार्यक्रम हेरेर नेपालको संस्कृति र सांस्कृतिक महत्वको बारेमा उनीहरुले बुझ्ने आसा समेत प्रवासी नेपालीहरुले गरेका छन् ।
नेपाललाई चिनाउनकै लागि कार्यक्रम भब्य र सभ्य रुपमा संचालन गर्ने तयारीमा माल्टामा रहेका सबै नेपालीहरु एक भएर लागि परेका छन् । नेपालीको एकता र आफ्नो देशप्रतिको प्रेम झल्काउनका लागि रोजगारीको सिलसिलामा माल्टामा रहेका नेपालीहरु साझा उद्देश्य राखेर नेपाल चिनाउन अग्रसर भएका छन् । कार्यक्रममा सहभागिता जनाउनकै लागि नेपालीहरुले आफू काम गर्ने ठाउँबाट बिदा समेत मिलाइ सकेका पोष्टहरु सामाजिक संजाल मार्फत पोष्ट गरी रहेका छन् । अप्रिल १४ तारीख नेपाली नयाँ वर्ष बैशाख १ गतेका दिन हुने कार्यक्रमको ब्यानर सहितका पोष्टहरु सामाजिक संजालमा जतातै अहिले देख्न सकिन्छ ।
नेपाल डे का दिन हुन लागेको कार्यक्रमले एकातिर पर्यटन प्रबद्र्धनका लागि नेपाल भ्रमणमा किन जाने भन्ने बारेमा विदेशी नागरिकलाई सन्देश प्रवाह गर्ने छ भने अर्कोतिर माल्टामा रहेका नेपालीहरुको आप्रवासन अधिकार, रोजगारीको सिलसिलामा नेपालीले भोेगेका समस्या र समाधानका उपायका बारेमा माल्टा सरकारलाई जानकारी गराउन भूमिका खेल्ने छ । माल्टा सरकारका आधिकारिक जिम्मेवार व्यक्तिहरुको सम्बोधनले नेपालीहरुले भोग्नु परेका समस्याको समाधान खोज्दै माल्टा र नेपाल दुई देश बीचको सम्बन्ध थप मजबुत हुने नेपालीहरुले विश्वास गरेका छन् ।
बैठकमा एनआरएनए माल्टाका कोषाध्यक्ष एवम् नयाँ वर्षको अवसरमा हुन लागेको कार्यक्रम मूल समितिका सयोजक निरज श्रेष्ठले कार्यक्रमको सम्पूर्ण तयारी पूराभई सकेको जानकारी दिएका छन् । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न विभागहरु बनाई जिम्मेवारी बाँडफाँड समेत गरिएको उनले बताए ।
माल्टा नेपाल अनलाइनका सम्पादक एवं कार्यक्रमका संचार तथा सामाजिक संजाल विभागका संयोजक पत्रकार धनराज अविरलले माल्टाको राजधानी भ्योलेटामा हुन लागेको नेपाल डे कार्यक्रमको प्रचार प्रसार व्यापक रुपमा भई रहेको बताए । माल्टा सरकारका जिम्मेवार व्यक्तिहरुले सम्बोधन गर्ने कार्यक्रम निकै अर्थपूर्ण र फलदायी हुने उनी बताउँछन् । माल्टावासीले नेपालीको कार्यक्रमलाई निकै चासोको रुपमा हेरेकाले कार्यक्रम व्यवस्थित रुपमा सफल पार्न अविरलले सबैलाई अनुरोध गरेका छन् ।
एनआरएनए माल्टाको आयोजनामा हुन लागेको नेपाल डे कार्यक्रमको माल्टामा रहेका विभिन्न सामाजिक संघसंंस्थाहरु सह आयोजकको रुपमा रहेका छन् । त्यसैगरी माल्टा नेपाल अनलाइन, सेतो पाटी, उज्यालो नेटवर्क र युरो पाटी मिडिया पार्टनरका रुपमा रहेर कार्यक्रमले नेपाल र माल्टाको सम्बन्ध अझैं राम्रो भएर जाने भन्दै नियमित समाचार सम्प्रेषण गरी रहेका छन् ।




