माल्टा नेपाल अनलाइन डेस्क
युरोपेली मुलुक माल्टामा नेपाली कथानक चलचित्र ‘कोशेढुंगा’ आउँदो सेप्टेम्बर १३ तारिख माल्टाको प्रतिष्ठित ईडेन सिनेमाघर सेन्जुलियनमा प्रदर्शन हुने भएको छ।
माल्टामा नेपाली चलचित्रलाई नियमित रूपमा प्रदर्शन गर्ने परम्परा सुरु गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको नेप–फाइभ इन्टरटेन्मेन्टका संचालक सुवास ढकालले जानकारी दिएका छन् ।
चलचित्र ‘कोशेढुंगा’ को निर्देशन सरोज पौडेलले गरेका हुन्। जो पहिले ´पूर्णबहादुरको सारङ्गी` निर्देशन गरेर चर्चा पाएका थिए। यो चलचित्रले नेपाली दर्शक मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा पनि ठूलो प्रभाव पारेको छ। निर्देशकका अनुसार “‘कोशेढुंगा’ नेपाली समाज, संस्कार र जीवनशैलीमा आधारित छ। चलचित्रले मनोरञ्जनसँगै परदेशमा रहेका नेपालीलाई आफ्नो घर–गाउँ र संस्कृतिसँग जोड्ने काम गर्नेछ।”
चलचित्र हेर्ने दर्शकलाई थप आकर्षित गर्न आयोजकले विशेष योजना सार्वजनिक गरेको छ। “दुई टिकट किन्नेले एक टिकट निःशुल्क पाउने” व्यवस्था गरिएको छ, जुन सीमित अवधिसम्म मात्र लागू हुने आयोजकले जनाएका छन्। यस्तो सुविधा समूह वा परिवारसँगै चलचित्र हेर्न चाहनेका लागि विशेष उपयोगी हुने अपेक्षा गरिएको नेप–फाइभ इन्टरटेन्मेन्टका संचालक ढकाल बताउँछन् ।
यससँगै, नेप–फाइभ इन्टरटेन्मेन्टले निकट भविष्यमा अर्को नेपाली चलचित्र सार्वजनिक गर्ने तयारी समेत गरिरहेको जनाएको छ। संस्थाले नेपाली सिनेमालाई प्रवासमा नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ। आयोजकका अनुसार ” यस्ता पहलहरूले माल्टामा मात्र नभई युरोपका अन्य मुलुकमा रहेका नेपाली समुदायमा पनि नेपाली चलचित्रप्रतिको आकर्षण बढाउनेछ।”
संस्थाले केही समयदेखि नेपाली चलचित्र र सांस्कृतिक कार्यक्रमहरू प्रवासमा रहेका नेपाली समुदायसम्म पुर्याउँदै आएको छ। यसअघि पनि यस संस्थाले विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको अनुभव छ।
चलचित्र ‘कोशेढुंगा’ को प्रदर्शनलाई लिएर माल्टामा रहेका नेपाली समुदाय उत्साहित देखिएका छन्। युरोपेली परिवेशमा आफ्नै भाषा र संस्कृतिका कथाहरू पर्दामा हेर्ने अवसरलाई सबैले सकारात्मक रूपमा स्वागत गरेका छन्। धेरै नेपालीहरूका लागि यो चलचित्रले आफ्नै माटोको सम्झना दिलाउने अपेक्षा गरिएको छ।
आयोजकले माल्टामा रहेका नेपाली मात्र नभई अन्य अन्तर्राष्ट्रिय दर्शकलाई समेत चलचित्र हेर्न अनुरोध गरेका छन् ।