एजेन्सी / युरोपेली संघ (ईयू) ले युक्रेनलाई आगामी दुई वर्षका लागि ९० अर्ब युरो ऋण उपलब्ध गराउने निर्णय गरेको छ। फ्रिज गरिएका रुसी सम्पत्ति प्रयोग गर्ने विषयमा सदस्य राष्ट्रहरूबीच सहमति नजुटेपछि ईयूले साझा बजेटको आधारमा ऋणमार्फत सहयोग गर्ने विकल्प रोजेको हो।
बेल्जियमको राजधानी ब्रसेल्समा एक दिनभन्दा बढी चलेको शिखर सम्मेलनपछि यो सम्झौता भएको हो। ईयूका अध्यक्ष एन्टोनियो कोस्टाले सामाजिक सञ्जाल एक्समार्फत साझा बजेटद्वारा समर्थित ऋण प्रदान गर्ने प्रतिबद्धता पूरा भएको बताएका छन्। यस सहयोगले युक्रेनका सैन्य तथा आर्थिक आवश्यकताहरू पूरा गर्न मद्दत पुग्ने नेताहरूको भनाइ छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब २०० अर्ब युरो बराबरका फ्रिज गरिएका रुसी सम्पत्ति प्रयोग गर्न आग्रह गरेका थिए। तर, ती सम्पत्तिको ठूलो हिस्सा रहेको बेल्जियमले दायित्व बाँडफाँटका विषयमा ग्यारेन्टी मागेपछि अन्य देशहरू हच्किएका थिए। अन्ततः सम्पत्ति नछोई ऋणमार्फत सहयोग गर्ने निर्णय भएको हो।
जेलेन्स्कीले यस निर्णयप्रति युरोपेली नेताहरूप्रति कृतज्ञता व्यक्त गर्दै यसले युक्रेनको लचिलोपनलाई बलियो बनाउने बताएका छन्। उनले फ्रिज गरिएका रुसी सम्पत्ति स्थिर रहनु पनि महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्।
यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले रुससँग पुनः संवादको सम्भावना खोज्नुपर्ने धारणा राखेका छन्। यता, युक्रेनलाई नगद अभाव चाँडै देखिन सक्ने ईयूको अनुमान छ। आवश्यक सहयोग नपाए वसन्त ऋतुसम्म ड्रोन उत्पादन घटाउनुपर्ने चेतावनी जेलेन्स्कीले दिएका छन्। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प युद्ध अन्त्यका लागि दबाब दिइरहेका बेला यो निर्णय युक्रेनका लागि महत्वपूर्ण जीवनदानका रूपमा हेरिएको छ।



