माल्टा नेपाल अनलाइन डेस्क / युरोपको देश माल्टा बसोबास गर्दै आएका नेपालीहरू लाई लक्षितगर्दै सञ्चालन गरिएको राहदानी नवीकरण घुम्ती सेवा सफलतापूर्वक सम्पन्न भएको छ। लामो समयदेखि प्रतीक्षामा रहेको उक्त सेवा सम्पन्न भएसँगै सयौँ नेपाली प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। 

अप्रिल २८ देखि मे २ सम्म पाँच दिन सञ्चालन भएको घुम्ती सेवाबाट ठूलो सङ्ख्यामा सेवाग्राहीहरूले राहत पाएका छन्। यस अवधिमा ४७१ जनाले म्याद सकिएका नवीकरण, हराएका र क्षतिग्रस्त राहदानी नवीकरण सेवा लिएका छन्। त्यस्तै ४५ जनाले कागजात प्रमाणीकरण गराएका छन्। भने ४७ जनाले नयाँ राहदानी तथा जन्मदर्तासम्बन्धी कागजात संकलन सेवा प्राप्त गरेका छन् । यसले परदेशमा रहेका नेपालीहरूको आवश्यकता कति ठूलो थियो भन्ने स्पष्ट देखाएको छ।
नेपाली राजदूतावास स्पेन र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एन आरएनए माल्टाको सहकार्यमा सम्पन्न यस कार्यक्रमले माल्टाबासी नेपाली समुदायलाई सहज सेवा उपलब्ध गराएको हो। लामो समयदेखि अन्योलको अबस्थामा थाँती रहेका कामहरू सहज रूपमा सम्पन्न गर्न पाउँदा सेवाग्राहीहरू उत्साहित देखिएका थिए। संस्थाका अध्यक्ष रोशन गिरीले यस कार्यक्रमलाई सामूहिक प्रयासको सफल उदाहरणका रूपमा व्याख्या गर्दै आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी सेवा निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। छोटो तयारीका बाबजुद ठूलो सङ्ख्यामा सेवा दिनु महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।
कार्यक्रममा स्पेनबाट आएका कार्यबाहक राजदूत पुरक अधिकारी सहितको टोलीले राहदानी नवीकरण, कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा प्रत्यक्ष रूपमा प्रदान गरेका थिए। सेवाग्राहीहरूले लामो समयपछि सरकारी सेवा आफ्नै नजिक पाउँदा ठूलो राहत र सन्तुष्टि व्यक्त गरेका छन्।

माल्टामा सम्पन्न यो घुम्ती सेवा केवल प्रशासनिक कार्यक्रम मात्र नभई परदेशमा रहेका नेपालीहरूबीच सहकार्य, विश्वास र एकताको उदाहरण बनेको छ। यसले देखाएको छ । सही समन्वय र एकताले टाढाको सेवा पनि सहज र प्रभावकारी बनाउन सक्छ।भन्ने सन्देश यस कार्यक्रममार्फत देखिएको छ ।



