माल्टा नेपाल अनलाइन डेस्क
माल्टा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भइरहेको आरोपको विरोधमा प्रवासी नेपालीहरूले युरोपेली मुलुक माल्टामा जनहस्ताक्षर अभियान सुरु गरेका छन्।
जनहस्ताक्षर अभियान आगामी जुन २९, आइतबार, माल्टाको बुजिब्बा स्थित सालिनी पार्कमा दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म आयोजना गरिएको रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग माल्टाका संयोजक राजेन्द्र भण्डारीले जानकारी दिएका छन्।
भण्डारीले भने, “देशमा बढ्दो अन्याय, अराजकता र राजनीतिक पूर्वाग्रहका विरुद्ध अब हामी चुप लागेर बस्न सक्दैनौं। सत्य र न्यायका पक्षमा उभिनु हामी सम्पूर्ण नेपालीको कर्तव्य हो।”
“जनताको हस्ताक्षर अब परिवर्तनको संकेत हुनेछ” भन्ने मूल नारासहित सुरु गरिएको यस अभियानले सत्य, न्याय र स्वच्छ राजनीतिका पक्षमा नेपाली जनसमुदायलाई एकताबद्ध गर्ने उद्देश्य राखेको छ। कार्यक्रममा “सत्य र न्यायका पक्षमा समर्थन जनाऔं, नेपालका लागि एकताबद्ध बनौं, राष्ट्रप्रेमको आवाज माल्टाबाट बुलन्द पारौं” भन्ने नारा अगाडि सारिएको छ।
आयोजकहरूले माल्टा र गोजोमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्। रास्वपाका अध्यक्ष लामिछानेले आफूमाथि भइरहेको अन्याय र योजनाबद्ध राजनीतिक आक्रमण विरुद्ध जनस्तरबाट समर्थन जुटाउन हालै अपिल गरेका थिए। त्यो अपिललाई आत्मसात् गर्दै विभिन्न मुलुकका प्रवासी नेपालीहरूले हस्ताक्षर अभियानमा सहभागिता जनाउन थालेका छन्।

माल्टामा रहेका रास्वपा समर्थक, शुभचिन्तक तथा इच्छुक व्यक्तिहरूलाई आफ्नो नाम, सम्पर्क विवरण, नेपालको ठेगाना र सदस्यता स्थिति (सदस्य/समर्थक/इच्छुक) पठाउन अनुरोध गरिएको छ।



