हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिक कोकिनसहित पक्राउ

Share:

काठमाडौँ/हवाई मार्ग प्रयोग गरी नेपाल आएका चार विदेशी नागरिक लागुऔषध कोकिनसहित पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले मंगलबार तीन जना विदेशी नागरिकलाई चार किलोभन्दा बढी कोकिनसहित पक्राउ गरेको हो।
ब्युरोका अनुसार पक्राउ पर्नेमा थाई नागरिक ४० वर्षीया मिस रुसानी कामा, भारतीय नागरिक ५५ वर्षीय जेभियर माथेव थालिअचेरी र २१ वर्षीय मुरसालेन हुसैन रहेका छन्। उनीहरू लाओसबाट थाइल्याण्ड हुँदै तथा सिधै काठमाडौँ आएको खुल्न आएको छ।

ब्युरोका प्रवक्ता जीवन निरौलाका अनुसार लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौँ आएकी थाई नागरिक मिस रुसानी कामालाई सीनामंगलस्थित एक होटलबाट पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा उनले लाओसबाट कोकिनका क्याप्सुल निलेर नेपाल ल्याएको खुलेको छ। चिकित्सकीय प्रक्रियामार्फत उनको पेटबाट २९ वटा कोकिनका क्याप्सुल निकालिएको र त्यसको तौल ५५० ग्राम रहेको ब्युरोले जनाएको छ।

यसैगरी, लाओसबाट काठमाडौँ आएका भारतीय नागरिकहरूलाई सीनामंगलस्थित सडकबाट पक्राउ गरिएको हो। उनीहरूको सुटकेस जाँच गर्दा तीन किलो ७५० ग्राम कोकिन बरामद गरिएको ब्युरोले जनाएको छ।
बरामद गरिएको कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य झन्डै १५ करोड रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ। पक्राउ परेका विदेशी नागरिकलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Share:

सम्बन्धित समाचारहरू