समानुपातिक बन्दसूची सच्याइनेछ : सभापति लामिछाने

Share:

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा देखिएका त्रुटिहरू सच्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले समानुपातिक सूचीमा विभिन्न कारणले केही कमजोरी र प्राविधिक त्रुटि देखिएको स्वीकार गर्दै पार्टी त्यसलाई सच्याउन तयार रहेको बताएका हुन् । उनले सूची तयार पार्ने क्रममा समयको अभाव, प्राविधिक जटिलता र केही व्यवस्थागत समस्याका कारण त्रुटि हुन गएको स्पष्ट पारे । विभिन्न क्षेत्रमा आफूलाई प्रमाणित गरिसकेका सक्षम साथीहरू पार्टीमा छन् । कतिपय अवस्थामा समय अभावका कारण कतिपय अवस्थामा प्राविधिक कारणले समस्या आएको हो ।” उनले भने, “नियतमा कुनै समस्या छैन । निर्णयहरू कहिलेकाहीँ तलमाथि हुन सक्छन्, तर त्यसलाई सच्याउन सकिन्छ। सभापति लामिछानेले पार्टीले कसैलाई पनि जबर्जस्ती बोकेर लैजानुपर्ने अवस्था नरहेको उल्लेख गर्दै योग्य, सक्षम र पार्टीको मूल्य–मान्यतासँग मेल खाने व्यक्तिहरूलाई नै प्राथमिकता दिने बताए। “हामीले बोक्नुपर्ने कोही पनि छैनन्। सच्याउनुपर्ने कुरा निश्चय नै सच्याइन्छ,”उनले दोहोर्‍याए ।

समानुपातिक बन्दसूची सार्वजनिक भएपछि सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट उठेका प्रश्न र आलोचनाप्रति पार्टी गम्भीर रहेको उनको भनाइ थियो । उनले कार्यकर्ता, समर्थक र आम नागरिकलाई धैर्य राख्न आग्रह गर्दै आवश्यक परे सूची पुनरावलोकन गरी सुधार गरिने स्पष्ट पारे ।
रास्वपाले नयाँ राजनीतिक संस्कार स्थापना गर्ने उद्देश्यका साथ अघि बढिरहेको भन्दै लामिछानेले पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर आगामी कदम चालिने विश्वास दिलाए ।

Share:

सम्बन्धित समाचारहरू