एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा, सहमतिमै नयाँ नेतृत्व चयन

Share:

माल्टा नेपाल अनलाइन डेस्क
काठमाडौं / गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट डा. हेमराज शर्मा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन्। ‘एकता, लगानी र गौरव’ भन्ने नारासहित काठमाडौँमा सम्पन्न महाधिवेशनमा सुरुमा नेतृत्व चयनबारे केही अन्योल देखिए पनि अन्ततः प्रमुख आकांक्षीहरूबीच सहमति जुटेपछि सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो।
अध्यक्ष पदका दाबेदार रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको एकता र दीर्घकालीन हितलाई ध्यानमा राख्दै उम्मेदवारी फिर्ता लिएपछि डा. शर्मा अध्यक्ष बन्ने मार्ग खुलेको हो। सहमति अनुसार शेरचन वरिष्ठ उपाध्यक्ष र बज्राचार्य उपाध्यक्ष बन्ने भएका छन्।
नयाँ कार्यसमितिमा विभिन्न देशबाट प्रतिनिधित्व हुने गरी उपाध्यक्षहरू चयन गरिएका छन्। उपाध्यक्षमा खगेन्द्र न्यौपाने, रामशरण सिम्खडा, प्रबिन गुरुङ, रोजिना प्रधान राई, जुनु गुरुङ, महेन्द्र ओली, रोशन थापा, दिनेश पोखरेल, मनोज कुमार श्रेष्ठलगायत समावेश छन्। महिला उपाध्यक्षमा हङकङकी राधिका गुरुङ (टीका) र युवा उपाध्यक्षमा पोर्चुगलका भिमसेन थापा निर्विरोध चयन भएका छन्।
महासचिवमा गंगाधर गौतम र डा. चिरञ्जीवी खड्का चयन भएका छन् भने उपमहासचिवमा टंक प्रसाद गैरे, दिनेश कुमार घिमिरे, डा. ज्ञानेन्द्र रेग्मी र पारसमणि पोखरेल रहेका छन्। सचिव पदमा विभिन्न देशबाट प्रतिनिधित्व गर्ने सात जना चयन भएका छन्। त्यसैगरी कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना र सहकोषाध्यक्षमा अब्दुल बासिद, मोहम्मद मुक्तदा मुसलमान तथा गंगा खतिवडा रहेका छन्।
महाधिवेशनबाट चयन भएको यो नयाँ नेतृत्वले विश्वभर रहेका नेपालीलाई एउटै सूत्रमा जोड्दै वैदेशिक रोजगारीमा रहेका नेपालीका समस्या समाधान, नेपालमा लगानी आकर्षित गर्ने वातावरण निर्माण तथा नागरिकतासम्बन्धी विषयमा पहल गर्ने अपेक्षा गरिएको छ। सोमबार औपचारिक रूपमा नयाँ कार्यसमितिको घोषणा गरिने बताइएको छ।

Share:

सम्बन्धित समाचारहरू