अन्तर्राष्ट्रिय सेफ सोसाइटी माल्टाद्वारा क्यान्सरपीडित मञ्जु परियारलाई ९६ हजार ३ सय २७ सहयोग, थप सहयोगका लागि अपिल

Share:

माल्टा नेपाल अनलाइन / स्तन क्यान्सरसँग संघर्ष गरिरहेकी नेपाली चेली मञ्जु परियारको उपचारका लागि प्रकाशित समाचारले सकारात्मक प्रभाव पार्न थालेको छ। उपचार खर्च अभावमा पीडादायी अवस्थाबाट गुज्रिरहेकी मञ्जुको व्यथा सार्वजनिक भएपछि माल्टास्थित नेपाली समुदायमा सहयोगको लहर सुरु भएको छ।

यसैक्रममा अन्तर्राष्ट्रिय सेफ सोसाइटी माल्टाले क्यान्सरपीडित मञ्जु परियारलाई उपचारका Cost रु ९६ हजार ३ सय २७ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ। संस्थाका अध्यक्ष धुर्ब पाण्डेले समाचार सार्वजनिक भएपछि संस्थाले मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै सोमबार उक्त रकम सहयोग स्वरूप क्यान्सरपीडित मन्जु  परियारलाई नै हस्तान्तरण गरिएको बताए ।

अध्यक्ष पाण्डेले परदेशमा रहेर गम्भीर रोगसँग संघर्ष गरिरहेकी एक नेपाली चेलीलाई जीवनको कठिन घडीमा साथ दिनु सबै नेपालीको साझा दायित्व भएको बताए। उनले सानो–सानो सहयोगले पनि ठूलो जीवन बचाउन सकिने भएकाले सबै संघसंस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा नेपाली समुदायलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरे।

अन्तर्राष्ट्रिय सेफ सोसाइटी माल्टाका महासचिव श्याम भण्डारीले मञ्जुको अवस्थाबारे प्रकाशित समाचारले समुदायलाई गम्भीर रूपमा झक्झक्याएको बताए।  समाचारको प्रभावले सहयोग जुट्न आशा समेत आफुले गरेको भन्दै मानवीय अभियानमा सबैको साथ आवश्यक रहेको उनले बताए ।

संस्थाका निवर्तमान अध्यक्ष बासुदेव भुसालले परदेशमा संकटमा परेका नेपालीलाई एकअर्काको सहारा बन्नुपर्ने उल्लेख गर्दै मञ्जुको उपचारका लागि सबैलाई खुलेर सहयोग गर्न अनुरोध गरेका छन्। उनले यस्तो कठिन समयमा देखाइने मानवीय सहयोग नै नेपाली समुदायको वास्तविक एकताको परिचय हुने बताए।

त्यसैगरी संस्थाका निवर्तमान वरिष्ठ उपाध्यक्ष बाबू अर्यालले रोग, दुर्घटना वा अन्य समस्या जतिबेला र जसलाई पनि पर्न सक्ने भएकाले आज मञ्जुको जीवन बचाउने अभियानमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखे। “आज उहाँलाई परेको समस्या भोलि हामीमध्ये कसैलाई पनि पर्न सक्छ। त्यसैले मानवताको भावनाले प्रेरित भएर क्यान्सरपीडित मञ्जु परियारको उपचारमा सक्दो आर्थिक सहयोग गरिदिन सम्पूर्ण नेपाली समुदायमा हार्दिक अपिल गर्दछु,” उनले भने।

गोर्खा नगरपालिका–६, ताप्लेकी २९ वर्षीया मञ्जु परियार रोजगारीका लागि माल्टा पुगेको केही महिनामै स्तन क्यान्सरबाट पीडित भएको पुष्टि भएको थियो। कमजोर आर्थिक अवस्था, घरमा बिरामी आमा र महँगो उपचार खर्चका कारण उनी अहिले आर्थिक संकटसँग जुधिरहेकी छन्। उपचारका लागि आवश्यक रकम जुटाउन कठिन भएपछि उनले सबै नेपाली समुदायसँग सहयोगको भावुक अपिल गरेकी थिइन्।

उनको अवस्थाबारे समाचार सार्वजनिक भएसँगै विभिन्न संघसंस्था, सामाजिक अभियन्ता तथा नेपाली समुदायबाट सहयोग जुट्न थालेको छ। यद्यपि उपचार प्रक्रिया लामो र खर्चिलो भएकाले अझै पर्याप्त आर्थिक सहयोग आवश्यक रहेको बताइएको छ।

मञ्जुले आफ्नो उपचारका लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय सेफ सोसाइटी माल्टा, संस्थाका पदाधिकारी, सहयोगदाता तथा आफ्नो पीडालाई आत्मीयताका साथ सार्वजनिक गरी सहयोगको वातावरण निर्माण गरिदिने सबैप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।

परदेशमा जीवन बनाउन पुगेकी एक नेपाली चेली आज आफ्नै जीवन बचाउन सबैको साथ खोजिरहेकी छन्। यस्तो कठिन घडीमा गरिने सानोभन्दा सानो सहयोगले पनि उनको उपचारमा ठूलो टेवा पुग्न सक्छ। त्यसैले मानवता, सहानुभूति र नेपालीपनलाई जीवन्त राख्दै क्यान्सरपीडित मञ्जु परियारको उपचार अभियानमा सबैलाई सक्दो आर्थिक सहयोग गर्न हार्दिक अपिल गरिएको छ।

Share:

सम्बन्धित समाचारहरू