माल्टा नेपाल अनलाइन/रोजगारीको सिलसिलामा माल्टामा कार्यरत ललितपुरको कोन्ज्योसोम–१ निवासी सञ्चमान लामाको ७ अगस्ट २०२६ मा असामयिक निधन भएको छ। लामाको निधनको दुःखद खबरले माल्टामा रहेका नेपाली समुदायसँगै नेपालमा रहेका परिवार, आफन्त, साथीभाइ तथा शुभेच्छुकहरूलाई समेत स्तब्ध र मर्माहत बनाएको छ।
२० जुन १९८२ मा जन्मिएका लामा रोजगारीका क्रममा क्रोएसियामा समेत कार्यरत रहेका थिए। करिब दुई वर्षअघि माल्टा आएका उनी परिवारको भविष्य उज्ज्वल बनाउने सपना बोकेर विदेशमा मेहनत गरिरहेका थिए। तर, परिवारका लागि केही गर्ने सपना अधुरै छाडेर उनको असामयिक निधन भएको छ। उनको निधनले परिवारजनमा अपूरणीय क्षति पुगेको छ भने नेपाली समुदायले एक असल सदस्य गुमाएको छ।
लामाको निधनप्रति माल्टामा रहेका नेपालीहरूले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन्। यस दुःखद घडीमा परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् तथा दिवंगत आत्माले चिरशान्ति प्राप्त गरून् भन्ने कामना गरिएको छ।
स्वर्गीय सञ्च मान लामाको पार्थिव शरीर अन्तिम संस्कारका लागि नेपाल पठाउन तथा परिवारलाई सहयोग पुर्याउने उद्देश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाले GoGetFunding मार्फत सहयोग अभियान सञ्चालन गरेको छ।
यस कार्यमा सहयोग पुर्याउन नेपाली समाजसँगै माल्टामा रहेका विभिन्न नेपाली संघसंस्था, समुदायका अगुवा तथा शुभेच्छुकहरूले समेत आ–आफ्नो तर्फबाट सहयोग रकम संकलन गरिरहेका छन्। पार्थिव शरीर नेपाल पठाउन आवश्यक खर्च जुटाउन विभिन्न माध्यमबाट सहयोग अभियान सञ्चालन भइरहेको छ।
विदेशमा ज्यान गुमाएका सञ्च मान लामालाई अन्तिमपटक आफ्नै जन्मभूमिको माटोमा पुर्याउने यो मानवीय कार्यमा माल्टामा रहेका नेपाली समुदाय, संघसंस्था, व्यवसायी तथा सहयोगी मनहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गरिदिन हार्दिक अपिल गरिएको छ।



