नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बडादसैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।
शनिबार शुभकामना सन्देश दिदैँ पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको सन्देश दिने यो पर्वलाई नेपाली समाजले सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको भन्दै यस्तो पर्वले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको बताएका हुन्।
सन्देशमा उनले भनेका छन्, ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो। मौलिक भेषभूषासहितका विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन्। हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ। विविधता बीचको एकता नेपालीको विशेषताको रुपमा विश्व प्रसिद्ध छ। बडा दशैंले समुदाय, संस्थाहरु, परिवार र ब्यक्तिब्यक्ति बीचको एकतालाई अझ मजबुत बनाउँदै आएको छ र बनाउनुपर्दछ।’ पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले आफू र आफ्नो पार्टीको तर्फबाट सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरेका छन्।