काठमाडौं । भिजिट भिसामा रसीया पाठइदिने भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन्। दुधपोखरी गाउँपालिका-१लमजुङ घर भई हाल काठमाडौँको टोखा नगरपालिका-११ बानियाँटार बस्ने ३० बर्षिया बिनिता गुरुङ रहेकी छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार एसएलसी फेल भएका भीमबहादुर बुढालाई वैदेशिक रोजगारीको लागि रसिया पठाउन गुरुङले प्रलोभनमा पारी पटक पटक गरी जम्मा रु. ३ लाख ४६ हजार रुपैयाँ र १ हजार अमेरिकी रकम लिई सम्पूर्ण भिजिट भिसामा चाहिने सर्टिफिकेट लगायतका कागजातहरू बनाई दिएकी थिइन् ।
गुरुङले एक हजार डलर साटेको देखाई उक्त डलर बसपार्कबाट आफै लिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर बुढालाई रसिया पठाएकी थिइन्। तर रसिया पुगे पश्चात् बुढालाई एयरपोर्टबाटै नक्कली कागजात भएको भनी फिर्ता पठाइएको थियो।
नेपाल फर्किएपछि पीडित बुढाले वैदेशिक रोजगार विभाग आई निवेदन दिएका थिए। सोही आधारमा कार्यालयबाट खटिएको टोलीले ठगी गरी फरार रहेकी गुरुङ फागुन २१ गते बानियाँटारबाट पक्राउ गर्न सफल भएको थियो।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।