माल्टामा तेस्रो–देशका नागरिकहरुले भोगेका समस्या माथी छलफल कार्यक्रम सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा माल्टा आएका तेस्रो–देशका नागरिकहरुले भोग्नु परेका समस्या र समाधानका उपायबारे सोमबार माल्टामा छलफल कार्यक्रम सम्पन्न भएको हो । माल्टामा कामगरी रहेका तेस्रो–देशका नागरिकहरुले कार्यक्रममा आफ्ना भोगाई र अनुभवहरु सुनाएका थिए । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले कार्यक्रममा सहभागिता जनाएका थिए ।
कार्यक्रममा एनआरएनए माल्टाको तर्फबाट आप्रवासी नेपालीहरुले भोगेका समस्याका बारेमा खनालले आफ्ना कुरा राखेका थिए । कामदारहरुले रोजगारदाताको कम्पनीमा कामगरी रहँदा केही समस्या आएमा रोजगारदाताले टर्मिनेशन (समाप्ति) दिने र १० दिनभित्र काम खोज्नुपर्ने माल्टा सरकारको नियम भएकोले यदि १० दिनभित्र काम खोज्न नसके माल्टा छोड्नु पर्ने समस्या भोग्दै आएकोले १० दिनको टर्मिनेशनको अवधी लम्ब्याउनु पर्नेमा जोड दिएका थिए ।
साथै कार्यक्रममा माल्टामा होटेल र रेष्टुरेन्ट क्षेत्रमा केही समय अघि लागू भएको स्किल पासले धेरै पैसा लगानी गरेर माल्टा आएका आप्रवासी नेपालीहरुले समस्या भोग्नु परेकोले रोजगारका लागि माल्टामा आएका नेपालीहरुको लागि सहज हुनेगरी व्यवस्था गर्नुपर्ने र तेस्रो–देशबाट नयाँ कामदार ल्याउँदा स्किल पासको नियम लागू गर्नुपर्ने विचार आफूले राखेको खनालले बताए ।
कार्यक्रममा तेस्रो–देशबाट माल्टा आएका कामदारलाई जसरी हुन्छ सजिलो बनाउनु पर्ने कार्यक्रमका सहभागीले बताएका थिए । असुरक्षितकार्य अवस्था वा समाप्ति र निर्वासनको डरले असमान व्यवहार जस्ता मुद्दाहरू रिपोर्ट गर्न तेस्रो देशका नागरिकहरुले नसकेको अवस्था छ । भाडा लागत र भाडा नियमहरूको ज्ञानको कमीले आप्रवासीहरु कम स्तरकोमा बस्ने र प्रायः पैसा बचत गर्नुपर्ने बाध्यता बारे कार्यक्रममा छलफल भएको थियो ।
माल्टाको आर्कडियोसेसको न्याय र शान्ति आयोगले आफ्नो प्रतिवेदन प्रकाशित गरेको थियो । माल्टामा तेस्रो–देशका नागरिकहरू हाम्रो आर्थिक भविष्यमा साझेदारी गर्दै वा श्रमबजार हितको सेवागर्दै माल्टिज अर्थतन्त्रको प्रमुख भागको रूपमा विकसित हुँदै गएको, आप्रवासन नीतिहरू र तेस्रो–देशका नागरिकहरूको बढ्दो निर्भरताको बारे प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ ।



