धनराज विक (अविरल) / डिसेम्बर २५ ( माल्टा )
माल्टामा ख्रीष्टमसको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । वर्ष २०२४ को (क्रिसमस डे) को उपलक्ष्यमा माल्टा नेपाल क्रिश्चियन चर्चको आयोजनामा बुधबार शुभकामना आदानप्रदान कार्यक्रमका साथै साँस्कृतिक कार्यक्रम सयौं जनाको उपस्थितिमा भब्य रुपमा सम्पन्न भएको हो । इसाई धर्मावलम्बीहरुले महान पर्वको रुपमा यशूको जन्मोत्सवलाई विश्वभर एकसाथ विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । रोजगारीका सिलसिलामा युरोपको माल्टामा रहेका आप्रवासी नेपालीहरुले पनि माल्टा नेपाल क्रिश्चियन चर्च गठन गरी प्रत्येक वर्ष यसरी नै (क्रिसमस डे) निरन्तर रुपमा मनाउँदै आएको एल्डर सोम घतानेले बताए ।
(क्रिसमस डे) सफल पार्न कार्यक्रममा अतिथिको रुपमा सहभागी भएर महत्वपूर्ण सहयोग गर्ने एनआरएनए माल्टा लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिबि, चर्चका सम्पूर्ण पदाधिकारि र पत्रकारलाई एल्डर घतानेले धन्यवाद् दिएका छन् । कार्यक्रममा अतिथिलाई स्वागत गर्दै घतानेले जुनसुकै धर्म मान्ने भएपनि समाजमा सबै मिलेर बस्नुपर्छ भन्दै मानिसमा हुने सबैखाले विभेदको अन्त्य हुनुपर्ने बताए । माल्टा नेपाल क्रिश्चियन चर्चले सामाजिक र मानवीय सेवाका काम गर्दै आएको र आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिदै जाने पनि उनले बताए ।
माल्टा नेपाल क्रिश्चियन चर्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा माल्टामा रहेका नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । आआफ्नो आस्था अनुसार जुनसुकै धर्म मानेता पनि सबै नेपालीहरुले कार्यक्रममा प्रेमपूर्वक एकआपसमा खुसी साँटासाँट गर्दै शुभकामना आदानप्रदान गरेको दृश्य निकै रोचक र आकर्षक देखिन्थ्यो । नेपालको राष्ट्रिय झण्डा राखेर सजिसजावट गरिएको कार्यक्रम स्थलभित्र प्रवेश गर्दा जोकोहीको मन प्रफुल्लित हुन्थ्यो । कार्यक्रममा सहभागी हुन आएकाहरुले देशको माया जागृत भएर आएको एकआपसमा कुरा गरी रहेका थिए । राम्रो व्यवस्थापन र अतिथिको सेवामा खटिएका माल्टा नेपाल क्रिश्चियन चर्च परिवारका सदस्यको व्यवहारले सबैको मन जितेको थियो । राष्ट्रिय गानमा सहभागी भएर देशप्रति सम्मान प्रकट गर्दै (क्रिसमस डे) को उपलक्ष्यमा एल्डर सोम घताने र डिकान्त सुन्दर तामाङले केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेपाली मात्र नभएर अन्य देशका नागरिकहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो । इसाई धर्मावलम्बी पाकिस्ताका फिनहास र सोनियाको जोडी पनि (क्रिसमस डे) कार्यक्रममा आएका थिए । पत्रकार सँग कुरागर्दै उनीहरुले यति राम्रो र व्यवस्थित कार्यक्रम पहिलो पटक देखेको बताए । आफ्नो देशमा पनि यति भब्य र सभ्य कार्यक्रम नभएको भन्दै नेपालीहरुको एकता र मेलमिलाप देखेर निकै खुसी लाग्यो । आफ्नै पहिरनमा सजिएर देशको झण्डा अगाडि राखेर गरेको कार्यक्रमले विदेशमा पनि नेपालीको देशप्रतिको प्रेम झल्किएको उनीहरुले बताए ।
व्यवस्थापन पक्ष उत्कृष्ट भएको भन्दै एल्डर सोम घतानेको उनीहरुले प्रशंसा गरेका थिए । कार्यक्रममा माल्टामा रहेका विभिन्न सामाजिक संघसंस्था, पार्टीका भातृ संगठनका प्रतिनिधि, व्यापारी, समाजसेवी र पत्रकार लगायतकोे सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले (क्रिसमस डे) को उपलक्ष्यमा शुभकामना दिदै एकआपसमा मिलेर बस्नुपर्ने भन्दै सामाजिक सद्भाव र भाइचाराको सम्बन्ध राख्दै अघि बढेर जानुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले (क्रिसमस डे) को शुभकामना दिदै एनआरएनए माल्टा सँग सहकार्य गर्दै सबैले मिलेर अगाडि बढ्नु पर्ने बताए । हामी सबैले देशलाई माया गर्नुपर्छ । देशको झण्डा कार्यक्रम स्थलमा राखेर गरिएको कार्यक्रमले सबैको मन छोएको उनले बताएका थिए । व्यवस्थित रुपमा कार्यक्रम आयोजना गरिएको भन्दै माल्टा नेपाल क्रिश्चियन चर्चको खनालले तारीफ गरेका थिए । एनआरएनए माल्टाका वरिष्ठ उपाध्यक्ष मधु गुरुङले एकले अर्काको धर्मको सम्मान गर्दै समाजमा प्रेमपूर्वक मिलेर बस्नुपर्ने बताए । पत्रकार धनराज अविरलले जुनसुकै धर्ममा आस्था भएपनि मानव धर्मलाई प्राथमिकतामा राखेर सबैसंग सामाजिक सद्भाव रहने गरी मानवीय व्यवहार गर्नुपर्ने बताएका थिए ।
त्यसैगरी एनआरएनए माल्टाका पूर्व महासचिव रोशन गिरीले शुभकामना दिदै कार्यक्रमले आपसी भाइचाराको सम्बन्ध थप मजबुत बनाएको बताए । एनआरएनए माल्टामा पनि नेपाल क्रिश्चियन चर्चको तर्फबाट सहभागिता हुनुपर्ने भन्दै सबै नेपालीले धर्मको सम्मान गर्दै उत्सव मनाउनु पर्ने बताएका थिए । एनआरएनए माल्टाका उपाध्यक्ष सत्य नारायण झाले माल्टामा रहेका सबै नेपालीलाई एउटै कार्यक्रममा सहभागी गराएर भब्य रुपमा सभ्य कार्यक्रम गरेको भन्दै आयोजकको प्रशंसा गरेका थिए । एनआरएनएका युवा उपाध्यक्ष विजय परियारले माल्टामा अहिले सम्मकै उत्कृष्ट कार्यक्रम आयोजना भएको बताए । कार्यक्रममा एनआरएनए माल्टाका सल्लाहकार हरी बिसी, सह–कोषध्यक्ष सुवास तिमिल्सेना, तमु समाज माल्टाका अध्यक्ष आकाश गुरुङ, पूर्वाअञ्चल प्रवासी समाज माल्टाका अध्यक्ष अमर बिष्ट, सह–सचिव कर्ण कुमार श्रेष्ठ, नेपाली समाज माल्टाका निवर्तमान अध्यक्ष दिनेश कार्की, समाजसेवी गणेश लामीछाने, समुन्द्र भट्टराई,अनोमल गुरुङ र दिपक घिमिरेको सहभागिता रहेको थियो ।
कार्यक्रममा झापा घर भएकी जानुका नेपालले नेपालमा भोटे जातीहरुले लगाउने पहिरन लगाएर कार्यक्रमको व्यवस्थानमा सक्रिय भएर खटिएकी थिईन् । सारी, कुर्ता सुरुवाल लगाउनु भन्दा माल्टामा हुने कार्यक्रममा आफ्नो देशको पहिचान झल्काउने पहिरन लगाउने गरेको भन्दै आजपनि यही पहिरन लगाएर आएको बताईन् । मोरङका जोनाथन मगर पनि शिरमा नेपाली भातगाउँले टोपी, नेपाली अल्लाको कोट र दौरा सुरुवाल लगाएर आएका थिए भने काठमाडौंका सामुएल नकान्द्री पनि दौरा सुरुवालमै चिटिक्क परेर सजिएर आएका थिए । उनीहरुले आफ्नो देशलाई चिनाउन नेपाली पोषाक नै लगाएर आएको खुसी हुँदै बताए ।
कार्यक्रम रोचक र आकर्षक तरिकाले बिन्द्रा थापा, सन्तोस बिक र अनिल पाण्डले संचालन गरेका थिए । डिकान्त सुन्दर तामाङले यशूको जीवनी माथि प्रकाश पारेका थिए भने रुपसना मगर, लिला क्षेत्री र बसन्ती परियारले अतिथिलाई खादा माला लगाएर मञ्चमा स्वागत गरेका थिए । कार्यक्रममा कलाकारहरुले यशूको महिमा झल्किने गीत गाउँदै बाइबलको सन्देश दिने साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको कार्यक्रममा सहभागी सुपिना तामाङले बताइन् । कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।