इन्दिरा चाम्लिंग / बेल्जियम
युरोपको बेल्जियममा नेपाली संस्कृति झल्काउँदै तमु समाज बेल्जियमले धुमधामसँग (तुमु ल्होछार) पर्व मनाएको छ । तमुहरुको नयाँ वर्ष २६०९ औं तमु ल्होछार पर्व सोमबार बेल्जियममा नेपाली संस्कृति झल्काउँदै धुमधामसँग मनाएको हो ।तमु ल्होछार पर्वमा आफ्नो मौलिक पहिरनमा सजिएर आएका तमुहरुले बेल्जियममा पनि मौलिक नेपाली पहिरन मार्फत नेपाल चिनाउने गरी भब्य कार्यक्रम सम्पन्न गरेको कार्यक्रमका सहभागीले बताएका छन् ।
तमु ल्होछार नयाँ वर्षको शुभकामना दिदै भब्य र सभ्य रुपमा कार्यक्रम संचालन भएको नेपाली राजदुतावास ब्रसेल्सका कार्यवाहक राजदूत रूस कार्कीले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राजदूत कार्कीले युरोपमा पनि नेपाली संस्कृतिको संरक्षण गर्ने काम भएको भन्दै तमु ल्होछार कार्यक्रमले एकताको सकारात्मक सन्देश दिएको बताएका थिए । कार्यक्रमका विशिष्ट अतिथि गैर आवासीय नेपाली संघ एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा र नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्तिमगरले तमु ल्होछारको शुभकामना दिदै कार्यक्रम भब्य रुपमा संचालन भएको बताएका थिए ।
बेल्जियममा अहिले सम्मकै महत्पूर्ण कार्यक्रम तमु समाजले आयोजना गरेको भन्दै तमु समाजको सबैले प्रशंसा गरेका थिए । कार्यक्रममा लक्जेम्बर्ग, नेदरल्याण्ड ,पोर्चुगल ,फ्रान्स ,स्पेन ,जर्मनी र बेलायतबाट तमु समाजका अगुवा व्यक्तिहरुको अर्थपूर्ण सहभागिता रहेको थियो । कार्यक्रम सफल पार्न महत्त्वपूर्ण सहयोग गर्ने सबैलाई तमु ल्होछार कार्यक्रमका संयोजक ओम प्रसाद तमुले धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोगका लागि अनुरोध गरेका छन् ।
अधिकार सहितको पहिचान सम्पुर्ण तमुहरुको साझा अभियानका साथ भन्ने मुल नाराका साथ सम्पन्न भएको तुम ल्होसार कार्यक्रममा तमु समाज बेल्जियमका पुर्व अध्यक्ष प्रबिना गुरुङ्ले दुई तमु सँस्था बीच एकता भएको जानकारी गराएकी थिइन् । तमु समाज बेल्जियमका अध्यक्ष होम गुरूंङको अध्यक्षतामा भएको तमु ल्होछार कार्यक्रमको संचालन समाजका महासचिव चित्रजंग तमुले गरेका थिए भने स्वागत मन्तव्य समाजका वरिष्ठ उपाध्यक्ष राम घलेले राखेका थिए । कार्यक्रममा उच्च शिक्षा डिग्री हासिल गरेका तमु विद्यार्थी र जेष्ठ नागरिकलाई सम्मान पत्रले सम्मान गरिएको आयोजकले बताएको छ ।
कार्यक्रममा बेल्जियममा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुको उल्लेखनीय सहभागिता रहेको थियो । नेपालबाट आएका चर्चित लोक गायक मिलन लामा र स्थानीय कलाकार लाहुरे कान्छाको बेजोड सांगीतिक प्रस्तुती रहेको गीतमा कार्यक्रमका सहभागीहरुले नाँचेर भरपुर मनोरन्जन गरेका थिए । साँस्कृतिक कार्यक्रमको संचालन प्रियन्का तमुस्यो र रिचा तमुस्योले गरेकी थिइन् ।