माल्टा नेपाल अनलाइन / नेवा समाज माल्टाले आज अक्टोबर २२ तारिख बुधबारका दिन न्हुँ दँ या भिन्तुना, म्हः पूजा तथा तिहार विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। माल्टाको जिरा स्थित ओर्फियम थियटरमा समाजले यस वर्ष पहिलो पटक नेपाः संवत् ११४६ को अवसरमा माल्टामा विशेष सांस्कृतिक कार्यक्रम गर्न लागेको हो।
कार्यक्रम आज दिउँसो १ बजेबाट नेवा परम्परागत म्हः पूजा सुरु हुनेछ। भने साँझ ५ बजेदेखि राति ११ बजेसम्म सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू हुने जनाइएको छ। कार्यक्रममा विशेष रूपमा “नेवा झ्वो भोये परम्परागत नेवा भोजन, सांस्कृतिक प्रस्तुति र रमाइलो वातावरण रहनेछ।
कार्यक्रममा डीजे स्काईको समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा सहभागी हुनका लागि प्रवेश शुल्क ५ युरो तोकिएको आयोजकहरूले जनाएका छन्।
नेपालका पुराना सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको नेवा समाज माल्टाका अध्यक्ष टिका प्रसाद श्रेष्ठले बताएका छन् ।
श्रेष्ठका अनुसार” नेवा समाज माल्टाले माल्टामा बसोबास गर्ने नेवार समुदायलाई मात्र नभई सम्पूर्ण नेपालीहरूलाई एकै मञ्चमा ल्याएर आफ्नो मौलिक संस्कृतिको प्रदर्शन गर्ने अवसर प्रदान गर्ने लक्ष्य लिएको छ।
नेवा संस्कृति, कला, भाषा र परम्परा नेपालकै ऐतिहासिक सभ्यता र पहिचानसँग गहिरो रूपमा जोडिएको छ। त्यसैले, परदेशमा रहेर पनि आफ्नै मूल चाडपर्व र संस्कृतिको अभ्यास गर्नु नेपाली समुदायको सांस्कृतिक चेतनाको प्रतीक हो। उनले भने “हामी माल्टामा भए पनि हाम्रो जरा नेपालमै छ। हाम्रो भाषा, संस्कृति र परम्पराको संरक्षण हामी आफैंले गर्नुपर्छ। यही भावना लिएर हामीले यो कार्यक्रम आयोजना गर्न लागेका हौं।”
श्रेष्ठले नेपालका अन्य जातीय समुदायहरूका प्रतिनिधिहरू, संघ–संस्था, संघीय परिषद् सदस्यहरू र सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागिता जनाई सहयोग गर्न आग्रह गरेका छन्।



